खामेनेईको हत्याको विरोधमा प्रदर्शन, तेस्रो दिन पनि कश्मीरका धेरै क्षेत्रमा कडा प्रतिबन्ध
खामेनेईको हत्याको विरोधमा प्रदर्शन, तेस्रो दिन पनि कश्मीरका धेरै क्षेत्रमा कडा प्रतिबन्ध


श्रीनगर, ०४ मार्च (हि.स.)। इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईको हत्याको विरोधमा घाटी क्षेत्रमा व्यापक प्रदर्शन भएपछि बुधबार लगातार तेस्रो दिन कश्मीरका धेरै स्थानमा कडा प्रतिबन्ध लगाइएको छ। सावधानीका रूपमा सरकारले शैक्षिक संस्थानहरू शनिबारसम्म बन्द गर्ने निर्णय गरेको छ भने मोबाइल इन्टरनेटको गति सुस्त बनाइएको छ। कश्मीरका विभिन्न भागहरूमा बुधबार पनि मानिसहरूको आवतजावत र भेला हुन प्रतिबन्ध जारी राखिएको छ।

कश्मीरका ठूलो शिया जनसंख्या भएका क्षेत्रहरू र पछिल्ला तीन दिनमा व्यापक प्रदर्शन भएका स्थानहरूमा विशेष रूपमा कडा प्रतिबन्ध लागू गरिएको छ। प्रदर्शनकारीहरूको भीड नियन्त्रण गर्न शहरभरि ठूलो संख्यामा पुलिस तथा अर्धसैनिक बल सीआरपीएफका जवानहरू परिचालन गरिएको छ। कानुन तथा व्यवस्था कायम राख्न शहर प्रवेश गर्ने मुख्य चोकहरूमा कन्सर्टिना तार र बेरिकेडहरू राखिएका छन्।

शहरको केन्द्र लाल चौकस्थित प्रतिष्ठित घण्टाघर आइतबार अमेरिका र इजरायलका संयुक्त हवाई आक्रमणमा खामेनेईको हत्या भएपछि भएको व्यापक प्रदर्शनपछि सिल गरिएको थियो। अगस्त २०१९ पछि कश्मीरमा यति ठूलो स्तरको प्रदर्शन पहिलोपटक देखिएको हो। प्रारम्भमा सरकारले विद्यालय, कलेज र विश्वविद्यालय दुई दिनका लागि बन्द गर्ने आदेश दिएको थियो। तर मंगलबार प्रदर्शनको अवस्थालाई ध्यानमा राख्दै शैक्षिक संस्थानहरू शनिबारसम्म बन्द राख्ने निर्णय गरिएको हो।

अधिकारीहरूका अनुसार, मोबाइल इन्टरनेटको गति निरन्तर कम गरिएको छ भने केही प्रिपेड मोबाइल कनेक्शनहरूमा समेत रोक लगाइएको छ। मंगलबार उत्तर कश्मीरका सुंबल र पट्टन क्षेत्रसहित घाटीका विभिन्न स्थानमा प्रदर्शन भएको थियो। बाँदीपोरा जिल्लाको सुंबलमा प्रदर्शनकारीहरूलाई तितरबितर गर्न सुरक्षा बलले बल प्रयोग गर्नुपरेको थियो।

श्रीनगरबाट नेशनल कन्फ्रेन्सका लोकसभा सांसद आगा सैयद रुहुल्लाह मेहदी तथा श्रीनगरका पूर्व मेयर जुनैद अजीम मट्टू लगायत केही मिडिया संस्था र व्यक्तिहरूमाथि कथित रूपमा भ्रामक सूचना प्रसारण गरेको आरोपमा पुलिस कारबाही गरिएको छ। डिजिटल तथा सामाजिक सञ्जालमार्फत कथित रूपमा “झुटा, बनावटी र भ्रामक सामग्री” प्रसारण गरेको आरोपमा मेहदी र मट्टूविरुद्ध श्रीनगर साइबर पुलिस थानामा बीएनएस धारा १९७(१)(डी) र ३५३(१)(बी) अन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande