'नारी शक्ति ऱ्याली' आयोजनलाई लिएर समन्वय बैठक आयोजित
'नारी शक्ति ऱ्याली' आयोजनलाई लिएर समन्वय बैठक आयोजित


गान्तोक, 15 अप्रेल (हि.स.)। आगामी 17 अप्रेलका दिन राजधानीमा आयोजना गरिने नारी शक्ति ऱ्यालीलाई लिएर आज यहॉंको स्थानीय एक होटलमा समन्वय बैठक सम्पन्न गरियो। उक्त ऱ्याली 'नारी शक्ति वन्दन अधिनियम' को समर्थनमा निकालिने बताइएको छ।

सिक्किम विधानसभाकी उपाध्यक्ष तथा नारी शक्ति ऱ्याली आयोजक समितिकी अध्यक्ष राजकुमारी थापाको अध्यक्षतामा बसेको बैठकमा समितिकी उपाध्यक्ष कला राई, कोषाध्यक्ष पामिन लेप्चा, महिला सल्लाहकारहरू, अध्यक्षहरू विभिन्न विभागका प्रमुखहरू र ओएसडीहरू उपस्थित थिए।

विधानसभा उपाध्यक्ष थापाले गत 13 अप्रेलका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले नयॉं दिल्लीको विज्ञान भवनमा नारी शक्ति वन्दन सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा 17 अप्रेल, 2026 का दिन ऱ्याली आयोजना गर्ने निधो गरिएको बताइन्। उनले ऱ्याली आयोजनलाई लिएर राज्यका सबै छवटा जिल्लामा सूचना सम्प्रेषण गरिएको बताइन्।

उनले यो ऱ्याली पूर्णरूपमा अराजनैतिक रूपमा राष्ट्रिय झण्डाका साथ आयोजन गरिने जानकारी गराइन्। उनले राज्यका सबै महिलाहरूको सहभागिताको लागि अपील गरिन्। उनले कार्यक्रमको सहज र कुशल आयोजनका लागि विभिन्न व्यवस्थाहरूको बारेमा जानकारी प्रस्तुत गरिन्।

यसैगरी, विधायक कला राईले आफ्नो स्वागत सम्बोधनमा राज्यका महिलाहरूलाई ऐक्यबद्धता प्रदर्शन गर्न र्‍यालीमा सक्रिय सहभागिता मार्फत ऐनलाई समर्थन र स्वागत गर्न अपील गरिन्। उनले समावेशी र उत्पादक समाजको लागि सशक्त महिलाहरूको महत्त्वमाथि प्रकाश पारिन्।

लोकसभा र राज्यसभामा क्रमश: 20 सेप्टेम्बर र 21 सेप्टेम्बर, 2023 मा पारित विधेयकले लोकसभा र राज्य विधानसभाहरूमा महिलाहरूका लागि 33 प्रतिशत आरक्षण सुनिश्चित गर्नेछ। 16 अप्रेल, 2026 देखि शुरू भइरहेको संसदको विशेष सत्रमा अधिनियमको कार्यान्वयनलाई अगाडि बढाउन छलफल हुनेछ।

यस विषयलाई ध्यानमा राख्दै 17 अप्रेलका दिन ऱ्याली निकाल्ने निर्णय गरिएको छ। ऱ्याली शुक्रवार बिहान 9:30 बजीदेखि देवरालीस्थित टाटा स्ट्याण्डबाट शुरू हुनेछ र हस्पिटल डॉंडा हुॅंदै पाल्जोर स्टेडियम पुगेर समाप्त हुनेछ।

बैठकमा खुल्ला छलफल पनि गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande