
गान्तोक, 15 अप्रेल (हि.स.)। सिक्किमको एक प्रतिष्ठित अङ्ग्रेजी दैनिक 'सिक्किम एक्सप्रेस' ले आफ्नो स्थापनाको 50 वर्ष पूरा गरेको छ। यस अवसरमा आज राजधानीको मनन केन्द्रमा आयोजित स्वर्ण जयन्ती समारोहमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने विशिष्ट व्यक्तिहरूलाई अभिनन्दित गरियो।
कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सम्बोधनमा सिक्किम एक्सप्रेसलाई पचास वर्षको यात्रा पूरा गरेकोमा हार्दिक बधाई एवं शुभकामना दिए। यहॉंसम्मको यात्रा तय गर्नु सहज थिएन भन्दै उनले विषम परिस्थितिहरूबीच पचास वर्षको यात्रा सफलतापूर्वक पूरा गर्न सफल बनेको बताए। उनले पत्रकारिता चुनौती र जोखिमपूर्ण पेशा रहे तापनि स्वर्गीय राम पात्रोले पत्रकारितालाई नै आफ्नो पेशा चुनेर धेरै चुनौतीहरू सहन गर्दै महत्त्वपूर्ण योगदान दिएको बताए।
उनले सिक्किम एक्सप्रेसको योगदानको सराहना गर्दै पत्रिकालाई सिक्किमको लोकतान्त्रिक यात्रामा एक सहयात्रीको रूपमा स्वीकार गरे। सिक्किम एक्सप्रेसले आफुलाई एक पत्रिकाको रूपमा मात्र नभई संस्थानको रूपमा स्थापित गर्न सक्षम बनेको उनले बताए। उनले सिक्किम एक्सप्रेसलाई राज्यकै एक स्थायी धरोहरको रूपमा वर्णन गरे।
मुख्यमन्त्रीले सिक्किममा एसकेएम पार्टीले सरकार गठन गरे यता पत्रकारिता फस्टाएर गएको दाबी गरे। उनले राज्यमा निर्धक्क काम गर्नु सक्ने वातावरण रहेको र पत्रकारहरूलाई धम्की दिने र कुटपिट गर्ने घटना पनि नभएको बताए। उनले राज्यमा स्वतन्त्र रूपमा पत्रकारिता गर्नु पर्ने वातावरणलाई सबै मिलेर बचाएर राख्नु पर्ने आह्वान पनि गरे।
कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीद्वारा उषा लाचुङ्पा (पर्यावरण), उगेन छोपेल (कला एवं फिल्म निर्माण), कमलेश कुमार अग्रवाल (व्यापार), रमन श्रेष्ठ (साहित्य) र गिरीश एण्ड द क्रोनिकल्स (सङ्गीत) लाई आ-आफ्नो क्षेत्रमा उल्लेखनीय योगदानका लागि अभिनन्दित गरियो। यसैगरी, सिक्किम एक्सप्रेसका सह-सम्पादक बिजय गुरुङलाई 'सिक्किम सम्मान' ले सम्मानित गरियो।
यस अवसरमा मुख्यमन्त्रीलाई पत्रिकाको तर्फबाट स्मारिका, ५० वर्षको स्मारक सिक्का र स्मृति चिह्न अर्पण गरी सम्मानित गरिएको थियो। यस अतिरिक्त, डा. सत्यदीप एस. छेत्रीलाई स्मारिका सम्पादनमा योगदानका लागि र सिक्किम एक्सप्रेसका पूर्व पत्रकारहरूलाई पनि सम्मानित गरियो।
कार्यक्रमलाई अखिल भारतीय लघु तथा मध्यम पत्रिका महासंघ अध्यक्ष गुरिन्दर सिंह, द इण्डियन न्यूज पेपर सोसाइटीका अध्यक्ष विवेक गुप्ता र 'द प्रिन्ट' का प्रमुख सम्पादक शेखर गुप्ताले पनि सम्बोधन गरेका थिए। आफ्नो स्वागत सम्बोधनमा सम्पादक अमित पात्रोले सिक्किम एक्सप्रेसको इतिहासमाथि प्रकाश पारेका थिए। सांस्कृतिक प्रस्तुति अन्तर्गत निजाङ पाल्मुले नेपाली र अङ्ग्रेजी गीत तथा डायनमिक फ्लिकर्स डान्स एकेडेमीले नृत्य प्रस्तुत गरे
हिन्दुस्थान समाचार / बिशाल