सिक्किममा पहिलोचोटि 'सिक्किम क्रस कन्ट्री च्याम्पियनशीप' आयोजित
Sikkim cross country


Sikkim cross country


गान्तोक, 19 अप्रेल (हि.स.)। सिक्किम एथ्लेटिक एसोसिएशन (एसएए) ले सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) र गोल्डन गेमिङको सहयोगमा आइतवार धावकहरूमाझ सहनशीलता, मानसिक दृढ़ता र शक्ति निर्माण गर्ने ध्येयका साथ 'सिक्किम क्रस कन्ट्री च्याम्पियनशीप' आयोजना गरेको छ। सिक्किममा पहिलोचोटि आयोजन गरिएको क्रस कन्ट्री च्याम्पियनशीपमा सिक्किम र उत्तर बङ्गालका कुल 46 वटा क्लबले अंशग्रहण गरेका थिए।

खेल गाउँ, रेशिथाङमा आयोजन गरिएको प्रतियोगिताको पुरस्कार अलङ्करण समारोहमा अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राई मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन्। 10 किलोमिटरको दुरी निर्धारित यस प्रतियोगितामा पुरुष तथा महिला (एकल र टोली) वर्ग समावेश गरिएको थियो। एकल वर्गको पुरुष खुल्ला विधातर्फ विक्रम लिम्बूले पहिलो स्थान ओगटे। लिम्बूले निर्धारित दुरी 34 मिनट 19 सेकेण्डमा पूरा गरे। सरोज कुमार (34 मिनट 22 सेकेण्ड) दोस्रो र मनबहादुर छेत्रीले 34 मिनट 50 सेकेण्ड खर्चेर तेस्रो स्थान ओगट्न सफल भए। उक्त तीनैजना धावक एक्स गोर्खा आर्मी क्लबसित सम्बन्धित छन्। पहिलो, दोस्रो र तेस्रो हुने धावकहरूलाई विधायक राईका बाहुलीबाट क्रमशः नगद 10 हजार, सात हजार र पाँच हजार प्रदान गरियो।

एकल वर्गअन्तर्गत महिला खुल्ला विधातर्फ प्रिया तामाङले 42 मिनट 55 सेकेण्ड खर्चेर पहिलो स्थान ओगट्न सफल भइन्। तेजस्विनी लामकानेले 43 मिनट 14 सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हत्याइन् भने वन्दना सुब्बाले 44 मिनट सात सेकेण्डमा समाप्ति रेखा टेकेर तेस्रो स्थान कब्जा गरिन्। चाख लाग्दो कुरा यहाँ के छ भने ती तीन महिला धावक पनि एउटै क्लब कालेबुङ युनाइडेटसँग आबद्ध रहेका छन्। पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने उक्त महिला धावकहरूलाई ग्रामीण विकास विभागकी सल्लाहकार पनि रहेकी कला राईका बाहुलीबाट क्रमैले नगद 10 हजार, सात हजार र पाँच हजार प्रदान गरियो।

प्रतियोगिताको मुख्य आकर्षण भने समूह विजेताहरूको पुरस्कार अलङ्करण समारोह रहेको थियो। महिलातर्फ कालेबुङ युनाइटेडले 11 अङ्कका साथ पहिलो स्थान ओगट्यो। टोलीमा प्रिया तामाङ, तेजस्विनी लामकाने, सम्झना सुब्बा र वन्दा सुब्बा रहेका थिए। उनीहरूले नगद 40 हजार रुपियाँ प्राप्त गरे।

दोस्रो स्थान ब्राइट फ्युचर फिमेल टोलीले हत्यायो। टोलीमा अप्सरा छेत्री, सपना खनाल, सबिना राई र अनिता दास रहेका थिए। उनीहरूले नगद 30 हजार प्राप्त गरे। हिमालयन रनर्सलाई तेस्रो स्थान प्राप्त भयो। टोलीमा ललिता कामी, उर्मिला राई, आकृति छेत्री र दीपिका छेत्री समावेश थिए। टोलीले नगद 20 हजार प्राप्त गर्यो।

पुरुषतर्फ एक्स गोर्खा आर्मीले पहिलो स्थान चुम्न सफल बन्यो। टोलीमा विक्रम लिम्बू, मनबहादुर छेत्री, सरोज कुमार उमेशसिंह महराले स्पर्धा गरे। टोलीले नगद 40 हजार रुपियाँ प्राप्त गर्यो। कालेबुङ युनाइटेडले दोस्रो स्थान कब्जा गर्यो। टोलीमा विवेक छेत्री, विकास भूजेल, फिरोज खत्री, डम्बरकुमार बस्नेत र पूरण राईले सहभागिता जनाएका थिए। उनीहरूले नगद 30 हजार प्राप्त गरे। इण्डिया स्मल सेण्टर क्योङ्सा, गेजिङ जिल्लाले तेस्रो स्थान हासिल गर्यो। टोलीमा गङ्गाहाङ सुब्बा, ओङ्गेल भोटिया, मनबहादुर छेत्री र गुल्शन कुमार रहेका थिए। उनीहरूले नगद 20 हजार रुपियाँ प्राप्त गरे।

यसअघि प्रतियोगितलाई बिहान नामथाङ-रातेपानी निर्वाचन क्षेत्रका विधायक तथा विद्युत् विभागका सल्लाहकार सञ्जीत खरेलले भूराजस्व तथा आपदा प्रबन्धन विभागका सचिव रिञ्जिङ छेवाङ भोटिया र सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीको उपस्थितिमा झण्डा हल्लाएर प्रतियोगिता शुभारम्भ गरेका थिए। कार्यक्रममा राज्य आपदा प्रबन्धन प्राधिकरणका निर्देशक प्रभाकर राई र खेलकुद तथा युवा मामिला विभागका निर्देशक आरबी विश्वकर्माको पनि उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande