
सोनादा, 19 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेदवार अमर लामाको पक्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) टुङ सन्तमेरिज समष्टिको आयोजनामा सिपाहीधुरादेखि दिलारामसम्म पैदल यात्रा गर्दै चुनाउ प्रचार गरिएको छ। भागोप्रमोको उम्मेदवार अमर लामाको चुनावी कार्यलाई लिएर भागोप्रमो समर्थकहरु स्थानीय सिपाहीधुरादेखि दिलाराम वामनधुरासम्म पैदल हिँडेर चुनाउ प्रचार गरे।
उक्त चुनाउ प्रचार र अभियान टुङ सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पाको अगुवाईमा सम्पन्न गरिएको थियो। यस अवधि भागोप्रमोका नेतृत्वहरुले अमर लामाको चुनाउ चिन्ह टर्च लाईटमा भोट गरेर जित दिलाउन आह्वान गरे भने चुनाउ जितेपछि पहाडमा गरिने कार्यहरूको बारेमा जनमानसलाई बताए।
दिलाराम फाटकमा जनभेलालाई सभासद नुरी शेर्पाले सम्बोधन गरेका थिए। स्थानीय मानिसहरुलाई भागोप्रमो पार्टीको संकल्प पत्र पनि वितरण गरियो।
यस चुनावी प्रचार अभियानबारे पत्रकारहरुसित कुराकानी गर्दै बोल्दै सभासद नुरी शेर्पाले टुङ सन्तमेरिज समष्टिमा भागोप्रमो उम्मेदवार अमर लामालाई सय प्रतिशत जिताउने बताए। उनले अहिलेको माहोल हेर्दा टुङ सन्तमेरिज समष्टिको 21 वटै बुथमा जित हासिल गर्ने लक्ष्य रहेको बताए।
उनले यस समष्टिभित्र तीनवटा ग्राम पञ्चायतहरु सन्त मेरिज एक र दुई अनि मार्गरौट्स होप पर्ने र यसमा सन्त मेरिज एक अन्तर्गत दिलरामदेखि वामनधुरासम्म जम्मा 10 किलोमिटर पैदल यात्रा गरेर चुनाउ प्रचार गरिएको जानकारी गराएका छन्। उनले आफ्नो समष्टिभित्र पर्ने बालासनमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेदवार बन्दना राईको काफिलामाथि भएको हमला विषयमा आफ्नो प्रतिक्रिया दिंदै हमलाको आरोप भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामाथि लगाएर हामीलाई उस्काउन खोजेको आरोप लगाए।
---------------
हिन्दुस्थान समाचार / हनोक