
- विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको लागि न्यूनतम ज्याला अधिनियमको आवाज उठाउनेछु: अमर लामा
खरसाङ, 20 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेदवार अमर लामाले आज बिहान तीनधारे महानदी समष्टिको सिविटार क्षेत्रबाट आफ्नो चुनाउ प्रचार गरे। उनले सिविटार 12 नम्बर डिभिजन हुँदै बाघमारा बस्ती अनि पुनः सिविटार भएर सिविटारको 5 नम्बर डिभिजनका विभिन्न गाउँहरु, शिवखोला र सिमरिङमा जनसम्पर्क अभियान गर्दै स्थानीय जनतालाई भेटे।
यसावधि अमर लामाले सिविटारको बाघमारा बस्तीमा झ्याङ्तेर सामतेलिङ छोईलिङ गुम्बामा पुगेर गुम्बाको दर्शन साथै पूजा अर्चना गरेका थिए। यसको साथै उनले सिविटारको मुन्शी गाउँमा रहेको साङ्गे टाँसी छोइलिङ गुम्बामा पनि पुगेर गुम्बाको दर्शन गर्नुका साथै पूजा अर्चना गरे। त्यसपछि उनी गिताङ्गे हुँदै शिवखोला पुगे, जहाँ सिमरिङ क्षेत्रका पार्टी पदाधिकारीहरु र कार्यकर्ताहरुले अमर लामालाई स्वागत गरेका थिए।
लोवर सिमरिङमा अमर लामाले आफ्नो सम्बोधन राख्दै आफुले जितेपछि विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको लागि न्यूनतम ज्याला अधिनियमको लागि आवाज उठाउने र श्रमिकहरुको लागि काम गर्ने वाचा गरे। उनले चियाबारी श्रमिकहरुको लागि स्पेसियल टेक लिएर काम गर्ने योजना रहेको र यसको लागि पहाडका तीनवटै विधानसभा सिटहरुमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवारहरुलाई लिएर जितिन् निवेदन गरे। उनले आँगनवाडी, भीबीडीसी, जीटीए कर्मचारीहरु लगायत अन्यहरुका लागि पनि काम गर्ने वाचा गरे।
चुनाउ प्रचार अभियानमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, पञ्चायत समिति सदस्य एवं महानदी पञ्चायत स्तरीय ब्लक कमिटीका सभापति कुसाङ लामा, सचिव बसन्त राई, पञ्चायत समिति सदस्या अनिरा वाईबा लगायत अन्यहरू उपस्थित रहेका थिए।
---------------
हिन्दुस्थान समाचार / हनोक