
कोलकाता, 27 अप्रेल (हि.स.)। पश्चिम बङ्गालमा चुनावी माहोलबीच दक्षिण 24 परगना जिल्लाको भाङ्गड़ विधानसभा क्षेत्रमा गए आइतवार राती त्यसबेला तनाउ बढ़्यो जतिबेला तृणमूल कङ्ग्रेस (टीएमसी)- का उम्मेद्वार शौकत मोल्लामाथि हमला भएको आरोप सामु आयो। यस घटनामा केही टीएमसी कार्यकर्ताहरू घाइते भएका छन्। शौकत मोल्लाले यस हमलालाई सुनियोजित बताउँदै यसको निम्ति इण्डियन सेक्युलर फ्रन्ट (आईएसएफ)-लाई जिम्मेवार ठहराएका छन्। तथापि आईएसएफले यस आरोपलाई पूर्ण रूपले खारेज गरिदिएको छ।
स्मरण गराइन्छ, केही दिनअघि मात्र टीएमसी प्रमुख ममता ब्यानर्जीले चुनाउ प्रचारको क्रममा शौकत मोल्लाको ज्यानलाई खतरा रहेको आशङ्का व्यक्त गर्दै कुनै पनि प्रकारको अप्रिय घटना भए कड़ा कारबाही गर्ने चेताउनी दिएकी थिइन्। बितेको आइतवार राती भएको यस घटनापछि उनको आशङ्का साँचो साबित भएको छ।
जानकारी अनुसार शौकत मोल्ला आइतवार राती दक्षिण 24 परगनाको भाङ्गड़ क्षेत्रमा चुनाउ प्रचार गरेर फर्किरहेका थिए। चालताबेरिया क्षेत्रमा प्रचार सिद्ध्याएर घर फर्किने क्रममा उनीमाथि हमला गरियो। स्थितिलाई नियन्त्रण गर्नको लागि सम्पूर्ण क्षेत्रमा प्रचुर मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ।
पुलिस सूत्र अनुसार मामिलाको जाँच शुरू गरिएको छ र सिकायतको आधारमा आवश्यक कारबाही गरिनेछ। यस घटनाको विरोधमा टीएमसी कार्यकर्ता अनि समर्थकहरूले राती सड़क जाम गरेर प्रदर्शन पनि गरे।
शौकत मोल्लाले सोझै रूपमा आईएसएफमाथि आरोप लगाउँदै भने, “चुनाउअघि सुनियोजित ढङ्गमा अशान्ति फैलाउने चेष्टा गरिँदैछ। यो पूर्ण रूपले योजनाबद्ध हमला हो। हाम्रा कार्यकर्ताहरूमाथि हमला गरिएको छ। हामीले पुलिस प्रशासनमा सिकायत दर्ता गराएका छौं। आरोपीलाई चाँड़ै पक्राउ गरिनुपर्छ।”
अर्कोतिर इण्डियन सेक्युलर फ्रन्ट (आईएसएफ)-ले उपरोक्त आरोपलाई अस्वीकार गर्दै भन्यो, यस घटनासित उनीहरूको कुनै सम्बन्ध छैन। पार्टीको दाबी गरेको छ, क्षेत्रमा तनाउ फैलाउने प्रयास स्वयं तृणमूलले गरिरहेको छ र चुनाउअघि सहानुभूति पाउनको लागि यस्तो आरोप लगाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा