केन्द्रिय मन्त्री किरेन रिजिजु आधिकारिक भ्रमणमा सिक्किम आइपुगे
किरेन रिजिजु सिक्किम आइपुगे


पाकिम, 30 अप्रेल (हि.स.)। भारत सरकारका संसदीय मामिला तथा अल्पसंख्यक कार्य मन्त्री किरेन रिजिजु बिहिबार आधिकारिक भ्रमणका लागि सिक्किम आइपुगेका छन्। भ्रमणका क्रममा उनी विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका साथै स्थलगत भ्रमण पनि गर्नेछन्।

केन्द्रिय संसदीय मामिला तथा अल्पसंख्यक कार्य मन्त्री किरेन रिजिजु आज आफ्नो आधिकारिक सिक्किम भ्रमणमा आएका छन्। उनको साथमा प्रसिद्ध भारतीय गायक मोहित चौहान पनि सिक्किम आएका छन्। रिरिजुलाई रम्फूमा जलस्रोत, सार्वजनिक स्वास्थ्य अभियान्त्रिकी तथा धर्म विभागका मन्त्री सोनाम लामा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, धर्म विभागकी सचिव केशाङ डिकी रिछुङ, सामाजिक कल्याण विभागकी सचिव सरिका प्रधान, सिक्किम पछौटे वर्ग आयोगकी अध्यक्ष कविता सापकोटा तथा मुख्यमन्त्रीका प्रेस सचिव योगन तामाङले स्वागत जनाए।आफ्नो आधिकारिक भ्रमणका क्रममा केन्द्रिय मन्त्री विभिन्न आधिकारिक कार्यक्रमहरूमा सहभागी हुनेछन् भने मङ्गन जिल्लाका विभिन्न स्थानहरुको स्थलगत निरीक्षण पनि गर्नेछन्।उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय सिक्किम भ्रमणपछि गत 29 अप्रेलका दिन फर्किएका छन्। प्रधानमन्त्री फर्किए लगत्तै केन्द्रिय मन्त्री रिजिजु सिक्किम भ्रमणमा आएका छन्। यसै क्रममा केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमण एक मईका दिन तीन दिवसीय भ्रमणमा सिक्किम आउने भएकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande