खरसाङ विधानसभा समष्टिमा सातजना उम्मेदवारहरु चुनावी मैदानमा
Kurseong election


खरसाङ, 09 अप्रेल (हि.स.)। यसपाली पहाडका तीनवटा सिटहरुमध्ये खरसाङ विधानसभा समष्टिमा चुनाउ निक्कै रोचक बन्दै गइरहेको छ। खरसाङ विधानसभा समष्टिको लागि सातजना उम्मेदवारहरु चुनाउ मैदानमा उत्रिएका छन्। नामाङ्कन पत्र बुझाउने अन्तिम दिन गत 6 अप्रेलसम्म 9 जना उम्मेदवारहरु थिए। आज, बिहिवार आफ्नो उम्मेद्वारिता फिर्ता लिने अन्तिम दिन दुई उम्मेदवारले आफ्नो उम्मेद्वारिता फिर्ता लिएका छन्। यसपछि, अब खरसाङ विधानसभा समष्टिमा सातजना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन्।

सातजना उम्मेदवारहरुमा भारतीय जनता पार्टीका सोनाम लामा, पहाडको सत्तारुढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अमर लामा, इण्डियन नेशनल कंग्रेसका सरोजकुमार खत्री, सीपीआईएमका उत्तम शर्मा, इण्डियन गोर्खा जनशक्ति फ्रण्टकी बन्दना राई तथा दुईजना निर्दलीय उम्मेदवार सुमेन्द्र तामाङ र मोहन शर्मा सामेल छन्।

खरसाङ विधानसभा समष्टिका मतदाताहरुले यी सातजना उम्मेदवारहरू मध्ये कसलाई खरसाङका विधायक चुन्ने हुन्, यो मतगणनापछि मात्र स्पष्ट हुनेछ। यद्यपि, अहिले सबै पार्टी र निर्दलीय उम्मेदवारहरू समष्टिका विभिन्न स्थानहरुमा पुगेर आफ्नो चुनाउ प्रचार जोडतोडले गरिरहेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande