
- हामीले दार्जिलिङ पहाडलाई अझ बलियो स्वायत्तताको माग गरिरहेछौं: उत्तम शर्मा
खरसाङ, 09 अप्रेल (हि.स.)। सीपीआईएमले खरसाङ विधानसभा समष्टिको लागि उम्मेदवार उत्तम शर्माको पक्षमा बिहिवार खरसाङमा चुनाउ कार्यालय उद्घाटन गरेको छ। खरसाङको पंखाबारी रोड नजिक चुनावी कार्यालयको उद्घाटन गरियो।
चुनाउ कार्यालय उदघाटनपछि पत्रकारहरूसित कुराकानी गर्दै सीपीआईएमको उम्मेदवार उत्तम शर्माले भने, बंगालमा वर्तमानमा अराजकता बढेको छ। यहाँ एउटा पक्षद्वारा लुटको राजनीति चलिरहेको छ भने अर्कोतर्फ घृणा र अविश्वास फैलाउने राजनीति चलिरहेको छ। यहाँ आम जनताको गोजी रित्तो भइरहेको छ भने सत्तारुढ दलका नेतृत्वहरू फस्टाइरहेका छन्। माकपा चाहन्छ कि यहाँ श्रमिक अनि किसानले न्याय पाउन्, महिलाहरूले सम्मान पाउन्।
उनले अघि भने, दार्जिलिङ पहाडी क्षेत्रमा एउटा राजनीतिक दलले मानिसहरूलाई केवल झुठो आश्वासन दिने कार्य गरिरहेको छ भने अर्को दलले लठ्ठी देखाएर राजनीति गरिरहेको छ। यहॉं व्यापक भ्रष्टचार अनि लुट चलिरहेको छ। झूटो आश्वासन दिएर जन मानसलाई ठग्ने अनि भ्रमित बनाउने कार्य भइरहेको छ।
माकपाको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा दार्जिलिङ जिल्ला सचिव एवं पूर्व सांसद समन पाठक, जिल्ला सचिव मण्डली सदस्य सचिन खाती, चेतन गुरुङ, दीपक सोनार, सुभाषना खाती अनि नरेन्द्र प्रधान उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक