
खरसाङ, 18 मई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक जरूरी सभा सोमवार लङ्भ्यू अस्पताल लाइन सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा हमिङ तामाङलाई हिल तराई डुवर्स प्लानटेशन वर्कस यूनियन, खरसाङ महुकमा समितिको सांगठनिक सचिवको पदमा मनोनित गरियो।
तामाङलाई कार्यकारी सभासद कल्पना प्रधान, खरसाङ महुकमा समिति श्रमिक संगठनकस सभापति सागर गुरुङ अनि सचिव भक्तिमान तामाङको बाहुलीबाट नियुक्ति पत्र प्रदान गरी खदा अर्पण गरियो।
सभालाई सम्बोधन गर्दै सभासद प्रधानले लङ्भ्यू चियाबारीको वर्तमान समस्या धेरै जटिल रहेको तथा लङ्भ्यू शाखा श्रमिक संगठनका सभापति सचिवलाई हमिङ तामाङले सांगठनिक कार्यहरूमा सहयोग पुऱ्याउने कुरामा आफू विश्वस्त रहेको जनाइन्। उनले सम्पूर्ण पञ्चायत प्रधान, उप-प्रधान साथै पञ्चायत सदस्यहरूलाई एकबद्ध भएर बस्न अनुरोध पनि गरिन्।
खरसाङ महुकमा समिति श्रमिक संगठनका सचिव भक्तिमान तामाङले हमिङ तामाङले विगतमा श्रमिक संगठनसँग आबद्ध रहेर कार्य गरेको अनुभव रहेको हुनाले उनको उपस्थितिले संगठनलाई थप उर्जा प्राप्त हुने जनाए। आफ्नो सम्बोधनमा हमिङ तामाङले खरसाङ महुकमा अन्तर्गत रहेका चियाबारीको अवस्था चिन्ताजनक रहेको औ यी चियाबारीहरूको समस्यामाथि कार्य गर्न आफू प्रतिबद्ध रहेको जनाए।
हिन्दुस्थान समाचार / हनोक