
खरसाङ, 18 मई (हि.स.)। तीनधारेको बीस माइलस्थित स्मृति वन परिसरमा गोरामुमो तीनधारे महानदी समष्टिको एक सभा जयराज थापाको सभापतित्वमा सम्पन्न भयो। सभामा विशेष गरी स्मृति वन वरिपरिका सिलिम पहाड़, आरूबोटे, स्मृति वनका गोरामुमोका पुरानो समर्थकहरू पुन गोरामुमोमा फर्की आएकाहरुलाई समष्टि अध्यक्ष जेबी गुरुङको बाहुलीबाट खदामाला लगाई स्वागत गरियो।
सभामा यी क्षेत्रहरूलाई समेटेर गोरामुमो शाखा समिति गठन गरियो। सभामा सर्वसम्मतिद्वारा सभापति हिरण सुब्बा, उप- सभापति मनोज थापा, सचिव रेणु लामा, उप-सचिव अशोक राणा, कोषाध्यक्षा हिरा प्रधान, सल्लाहकार जयराज थापा, दिलिप मगर लगायत 12 जनाको कार्यकारी सदस्य सदस्याहरु चयन भएका छन्।
समष्टि अध्यक्ष जेबी गुरुङले आफ्नो सम्बोधनमा नवचयनित पदाधिकारी तथा कार्यकारी समितिका सदस्यहरूलाई बधाई अनि शुभकामना दिए। उनले भने, हाम्रो पार्टीमा नयाँ पुरानो भन्ने कुरा छैन। 2007 साल अघि यो पहाड सबै हरियो नै थियो। यहाँ केही अवसरवादीहरूले हाम्रो विश्वास र आस्थामाथि खेलवाड गरे। हामीलाई छताछुल्ल बनाए। अब हामी एक हुने समय आएको छ। यही नै समयको माग पनि हो।
समष्टि उप सभापति बिजय थापाले आफ्नो सम्बोधनमा भने, यदि हाम्रो पूर्व पार्टी अध्यक्ष सुवास घिसिङले जीटीए विरूद्ध उच्च न्यायालयमा दर्ता गरेको मुद्दा वर्तमान अध्यक्ष मन घिसिङले पुनः खोलाएमा यो असंवैधानिक जीटीए तत्कालै रद्द हुनेछ, किनकि उच्च न्यायालयको न्यायाधीशद्वारा यो जीटीए असंवैधानिक घोषित भइसकेको छ।
हिन्दुस्थान समाचार / हनोक