2002 लाई नै आधार मानेर सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने
सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने


गान्तोक, 18 मई (हि.स.)। भारतीय निर्वाचन आयोगले सिक्किमलगायत देशका 16 राज्य र 3 केन्द्र शासित प्रदेशहरूमा विशेष गहन पुनरीक्षण (एसआईआर) सञ्चालन गर्ने भएको छ। उक्त राज्यहरूमा आगामी 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुनेछ भने 6 सेप्टेम्बर, 2026 सम्म चल्नेछ। उक्त जानकारी आज सिक्किमका मुख्य निर्वाचन अधिकारी राजकुमार यादवले एक पत्रकार सम्मेलनमा दिए।

बलुवाखानीस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले भारतीय निर्वाचन आयोग (ईसीआई) को निर्देशनपछि देशका 16 राज्य र 3 केन्द्र शासित प्रदेशहरूमा एसआईआर हुने भएको जानकारी गराए। एसआईआरको महत्वमाथि प्रकाश पार्दै उनले यसको मुख्य उद्देश्य राज्यमा अयोग्य मतदाताहरूको नाम मतदाता सूचीबाट हटाउनु रहेको बताए। उनले अन्तिम एसआईआर 2002 मा भएको अवगत गराउॅंदै 2002 को मतदाता सूचीमा नाम अन्तर्भुक्त रहेका मतदाताहरूले कुनै पनि प्रकारको दस्तावेज बुझाउनु नपर्ने स्पष्ट पारे।

यादवले जानकारी गराए अनुसार, 20 मईदेखि 29 मईसम्म तयारी, प्रशिक्षण र मुद्रण सम्बन्धी कार्य हुनेछन्। 30 मईदेखि 6 जूनसम्म बीएलओहरूले घर-घर भ्रमण गर्नेछन्। 28 जूनसम्ममा मतदान केन्द्रहरूको युक्तिकरण कार्य सम्पन्न गरिने छन्। 5 जुलाईमा मस्यौदा मतदाता नामावलीको प्रकाशन गरिने छ। यसपछि, 5 जुलाईदेखि 4 अगस्तसम्म दावी र आपत्तिहरू दर्ता गर्ने प्रक्रिया जारी रहनेछन्। यसैगरी, 5 जुलाईदेखि 2 सेप्टेम्बरसम्म दावी र आपत्तिहरूको सूचना/चरणबद्ध सम्बोधनको कार्य गरिने छन्। उनले सिक्किमलगायत ओडिशा, मिजोरम र मणिपुर राज्यका मतदाताहरूको अन्तिम नामावली 6 सेप्टेम्बरमा प्रकाशित गरिने जानकारी गराए।

मुख्य निर्वाचन अधिकारीले ईसीआईद्वारा सिक्किमका लागि अनुमोदित ५४ नयाँ मतदान केन्द्रहरूको बारेमा पनि जानकारी दिए। उनले २००२ को एसआईआर मतदाता नामावलीमा नाम नभेटिएमा मतदाता सूचीमा समावेश गर्न योग्य मतदाताहरूले पेश गर्नुपर्ने ईसीआईद्वारा तोकिएका दस्तावेजहरूको बारेमा पनि बताए। उनले सिक्किमेली पुरुष नागरिकहरूसँग विवाह गरेका देश बाहिरका महिलाहरूको मतदाता नामावलीमा नामांकनको लागि गरिएका प्रावधानहरूको बारेमा पनि जानकारी दिए।

एक प्रश्नको जवाफमा मुख्य निर्वाचन अधिकारीले ईसीआईको निर्देशन अनुसार 2002 मा भएको एसआईआरलाई नै आधार मानेर आगामी एसआईआर प्रक्रिया सम्पन्न गरिने स्पष्ट पारे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande