
गान्तोक, 27 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज पोकलोक-कामराङ विधानसभा क्षेत्रको कार्यकारी परिषद्को बैठक लोअर डोरोपमा आयोजन गर्यो। पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न बैठकमा नाम्ची जिल्ला उपाध्यक्ष (प्रभारी) डीबी गुरुङ, जिल्ला उपाध्यक्षहरू, महासचिवहरू, सचिवहरू, वरिष्ठ पार्टी नेताहरू तथा समर्पित पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
यो बैठक पार्टीको जारी संगठन विस्तार अभियानअन्तर्गत आयोजना गरिएको बताइएको छ, जसको उद्देश्य विधानसभा क्षेत्र तहमा संगठनलाई अझ सुदृढ़ बनाउनुका साथै तृणमूल स्तरमा जनतासँगको सम्बन्धलाई अझ गहिरो बनाउनु हो। बैठकमा बुथस्तरीय संगठनलाई बलियो बनाउने, जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने, आगामी संगठनात्मक जिम्मेवारीका लागि तयारी गर्ने तथा पार्टीलाई जनताको आकांक्षा र सरोकारसँग निरन्तर जोडेर राख्ने विषयमा विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा धेरै नयाँ सदस्यहरू औपचारिक रूपमा पार्टीमा सामेल भएको बताइएको छ। पार्टी अध्यक्ष राईको उपस्थितिमा नयाँ सदस्यहरूलाईमा स्वागत गरियो। सीएपीले भनेको छ, समाजका विभिन्न वर्गका नागरिकहरू परिवर्तनको अभियानमा स्वेच्छाले सहभागी भइरहेका छन्। विशेषगरी युवा, महिला, किसान, श्रमिक तथा सर्वसाधारणको बढ्दो सहभागिताले पार्टीको सुधारमुखी दृष्टिकोण र पारदर्शी सुशासनप्रतिको प्रतिबद्धतामाथि जनविश्वास निरन्तर बढिरहेको स्पष्ट भएको पार्टीले जनाएको छ।
सीएपी सिक्किमले आफ्नो उद्देश्य केवल निर्वाचन राजनीतिमा सीमित नरहेको दोहोराएको छ। जनसहभागिता, लोकतान्त्रिक मूल्य-मान्यता तथा जनसेवामा आधारित बलियो संगठन निर्माण गर्दै निरन्तर तृणमूल स्तरमा जनसम्पर्क, संगठन सुदृढीकरण तथा जनमुखी कार्यक्रममार्फत सिक्किमका जनतालाई विश्वासिलो, जिम्मेवार र वैकल्पिक राजनीतिक शक्ति प्रदान गर्ने पार्टीको लक्ष्य रहेको उल्लेख गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल