
आसनसोल, 15 जुलाई (हि.स.)। पश्चिम बर्दवानको आसनसोलस्थित ईसीएलको बङ्कोला क्षेत्रको श्यामसुन्दरपुर (चनचनी) कोलियरीमा बुधवार बिहान एउटा ठूलो दुर्घटना भयो। लगभग 70 वर्ष पुरानो कङ्क्रिटको विशाल पानीको ट्याङ्की अचानक तीव्र विस्फोटसितै भत्केर झऱ्यो। बिहान साढ़े छ बजे भएको यस दुर्घटनामा ईसीएलका दुई जना कर्मचारीहरू गम्भीर रूपमा घाइते भए जसको पहिचान सङ्गीता देवी (50) र प्रभावती उराउँ (50)- को रूपमा भएको छ। दुवैलाई तत्कालै अस्पतालमा भर्ती गरियो।
यो घटना हुँदा वरपर अन्य कुनै पनि मानिसहरू उपस्थित थिएनन् जसले गर्दा ठूलो जनहानि हुनदेखि बच्यो। तथापि स्थानीय मानिसहरूको भनािछ, एक-दुई मिनट पनि वरपर भएको भए यो दुर्घटना अत्यन्त भयानक हुनसक्थ्यो।
बितेका केही दिनदेखिको भइरहेको अविरल वर्षाका कारण जर्जर भइसकेको पानीको ट्याङ्की भत्किँदा क्षेत्रमा कोकोहोलो नै मचियो। स्थानीय मानिसहरूले दाबी गरेका छन्, यसै पानीको ट्याङ्कीबाट हजारौं मानिसहरूमा पिउने पानीको आपूर्ति हुँदै आएको थियो। ट्याङ्की नै भत्किएपछि अब सम्पूर्ण क्षेत्रमा पिउने पानीको सङ्कट हुने आशङ्का गहिरिएको छ।
घटनापछि कोलियरीका श्रमिक सङ्गठनहरूले ईसीएल प्रबन्धनमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइ छ, भर्खरै मात्र केही पुराना तथा जर्जर अवस्थामा रहेका आवासहरूलाई असुरक्षित बताउँदै भत्काइयो, तर लगभग सात दशक पुरानो यस पानीको ट्याङ्कीको औपचारिक मरम्मत मात्र गरेर उपयोग गर्न जारी राखियो। बारम्बार चेताउनी दिइएको भएपनि स्थायी मरम्मत वा नयाँ ट्याङ्की बनाउने दिशामा कुनै ठोस कदम उठाइएन।
दुर्घटनापछि ईसीएल प्रबन्धनले सम्पूर्ण क्षेत्रलाई ब्यारिकेडिङ्ग गरेर मानिसहरूको आवागमनमाथि रोक लगाइदिएको छ। तथापि यो समाचार लेखुञ्जेलसम्म ईसीएलको पक्षबाट कुनै आधिकाकरिक बयान जारी गरिएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा