
गान्तोक, 15 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको सोरेङ जिल्लास्तरीय कार्यकर्ता सभा आज रिन्चेन्पुङको अप्पर हात्तीढुङ्गामा पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न भयो।
पार्टी अध्यक्ष गणेश कुमार राईले आफ्नो सम्बोधनमा सत्तारूढ दलले विपक्षी नेता खरिद गरेर लोकतन्त्र जोगाएको दाबी गर्नु हास्यास्पद भएको टिप्पणी गरे। उनले वर्तमान सरकारले आफ्नो मात्र सात वर्षको अवधिमा प्रतिव्यक्ति करिब २ लाख ८५ हजार रुपियाँ बराबरको ऋण लिएको दाबी गर्दै राज्यको आर्थिक अवस्था कमजोर बनाएको, सरकारको आर्थिक अनुशासनको अभावका कारण विद्यार्थीको छात्रवृत्ति, ठेकेदारहरूको भुक्तानी तथा कर्मचारीहरूको तलब वितरणमा समस्या देखिएको आरोप लगाए।
पार्टी प्रवक्ता अल्बर्ट गुरुङले आफ्नो सम्बोधनमा विगतमा भ्रष्टाचारविरुद्ध आन्दोलन गरेको एसकेएम पार्टी सत्तामा पुगेपछि आफैं भ्रष्टाचारमा डुबेको आरोप लगाए। राज्यको आर्थिक अवस्था केही सीमित व्यक्तिका लागि मात्र अनुकूल देखिए पनि आम नागरिकले आर्थिक संकट भोगिरहेको उनले बताए। उनले राज्यको आर्थिक व्यवस्थापन कमजोर भएको दाबी गर्दै अब राज्यलाई थप संकटबाट जोगाउन सीएपी सिक्किमलाई साथ दिन आह्वान गरे।
प्रवक्ता गुरुङले सरकारको आलोचना गर्दै निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दलका प्रवक्तामाथि समेत सरकारी निर्देशनमा सीआईडीमार्फत नोटिस जारी गरिनु लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाए। उनले महिलालाई बलात्कारको धम्की दिने व्यक्तिमाथि कारबाही गर्न नसक्ने निकायले जनताको आवाज दबाउन खोज्नु लज्जास्पद भएको टिप्पणी गरे।
यसैगरी, प्रवक्ता महेश राईले जनताको पक्षमा बोल्ने तथा वकालत गर्नेहरूलाई सरकारी संयन्त्र प्रयोग गरेर प्रताडित गर्ने प्रवृत्ति बढेको आरोप लगाए। उनले पुलिस कार्यालयमा न्याय माग्न जाँदा पार्टीका नेतामाथि भएको आक्रमणमा दोषीमाथि कारबाही नभएको उल्लेख गर्दै न्यायसंगत विषयमा मात्र पार्टीले राज्यका निकायसँग सहकार्य गर्ने बताए।
सभाका क्रममा सत्तारूढ दल त्यागेर सोरेङ जिल्लाका धेरै परिवार सीएपी सिक्किममा प्रवेश गरेको दाबी गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल