
सोरेङ, 15 जुलाई (हि.स.)। जिल्लापाल तथा जिल्ला निर्वाचन अधिकारी धीरज सुबेदीको अध्यक्षतामा आज जिल्ला प्रशासन केन्द्र, सोरेङमा विशेष गहन पुनरीक्षण २०२६ को तेस्रो चरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। यस प्रशिक्षणको उद्देश्य मतदाता नामावली पुनरीक्षणको जारी प्रक्रियामा संलग्न अधिकारी तथा कर्मचारीहरूलाई आफ्नो भूमिका, जिम्मेवारी तथा कार्य-सम्पादनसम्बन्धी प्रक्रियाबारे स्पष्ट जानकारी गराउनु थियो।
जिल्लापाल सुबेदीले प्रशिक्षणमा मतदाता नामावलीमा नाम समावेश गर्ने, हटाउने तथा त्रुटि सच्याउने प्रक्रियाका लागि आवश्यक दस्तावेज, प्रमाणीकरण प्रक्रिया तथा चरणबद्ध कार्यविधिबारे विस्तृत जानकारी दिए। साथै, सम्बन्धित सबै अधिकारी तथा कर्मचारीलाई निर्वाचन आयोगद्वारा निर्धारित निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्दै जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
अतिरिक्त जिल्लापाल डीआर बिष्टले निर्वाचन दर्ता अधिकारी तथा सहायक निर्वाचन दर्ता अधिकारीहरूका लागि भारतीय निर्वाचन आयोगले जारी गरेका निर्देशनहरूबारे जानकारी गराउँदै मतदाता नामावली पुनरीक्षणसम्बन्धी कानुनी तथा प्रक्रियागत व्यवस्थामाथि प्रकाश पारे। उनले प्रत्येक निर्वाचनसम्बन्धी निवेदनको छानबिन र निर्णय गर्दा शुद्धता, पारदर्शिता तथा एकरूपता कायम राख्नुपर्नेमा विशेष जोड दिए।
यस प्रशिक्षणमा एसआईआर २०२६ को तेस्रो चरणका लागि गठन गरिएका टोलीहरूको भूमिका तथा जिम्मेवारीबारे पनि विस्तृत जानकारी दिइयो। कार्यक्रमको अन्त्यमा भारत निर्वाचन आयोग तथा सिक्किम निर्वाचन आयोगसँग भिडियो सम्मेलन पनि सम्पन्न भयो, जसमा सिक्किमका सबै जिल्लाका निर्वाचन दर्ता अधिकारी तथा सहायक निर्वाचन दर्ता अधिकारीहरू सहभागी बने।
हिन्दुस्थान समाचार / बिशाल