
मङ्गन, 15 जुलाई (हि.स.)। हिमाली क्षेत्रमा पर्यावरणीय संरक्षण एवं जैवविविधता संरक्षणप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्दै आज मङ्गन जिल्लाको लाचेनस्थित लाचेन गुम्पा मार्गमा लाली गुरासॅंका विरुवा रोप्ने अभियान आयोजना गरियो। अभियानको अगुवाई समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले गरेको थियो। कार्यक्रममा पिपन छो बन्धु लाचेन्पा र पिपन ख्येछोटक लाचेन्पा, वन विभागका अधिकारी लगायत ३०० भन्दा बढी सर्वसाधारण सहभागी थिए।
मन्त्री लेप्चाले सिक्किमको राज्य रूख र हिमालय क्षेत्रको सबैभन्दा प्रतिष्ठित फूल फुल्ने प्रजातिहरू मध्ये एक लाली गुरासॅंको पारिस्थितिक, सांस्कृतिक र प्रतीकात्मक महत्त्वमाथि प्रकाश पारे। उनले लाली गुरासॅं जस्ता स्वदेशी प्रजातिहरू रोप्नु पारिस्थितिक सन्तुलन कायम राख्न, संवेदनशील पहाडी पारिस्थितिक प्रणालीलाई सुदृढ पार्न, वन क्षेत्र बढाउन, जैवविविधताको संरक्षण गर्न, माटोको क्षय रोक्न र प्राकृतिक पानीको स्रोतहरूको संरक्षण गर्न महत्त्वपूर्ण रहेको बताए।
मन्त्रीले पर्यावरण संरक्षण एक सामूहिक जिम्मेवारी हो जसको लागि सक्रिय जनसहभागिता आवश्यक छ भनी बताए। उनले स्थानीय समुदायबाट सक्रिय सहभागिताको सराहना गर्दै यस्तो सामूहिक सहभागिताले लाचेनका मानिसहरूमा बढ्दो पर्यावरणीय चेतनालाई प्रतिबिम्बित गर्दछ भने। उनले नागरिकहरू, विशेष गरी युवाहरूलाई रोपिएका बिरुवाहरूको स्वामित्व लिन र संरक्षण गर्न आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल