
गान्तोक, 15 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले अनिश्चितकालीन आमरण अनशनमा बसेका सामाजिक अभियन्ता सोनाम वाङचुकको स्वास्थ्य एवं कल्याणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले वाङचुकलाई आफ्नो पूर्ण समर्थन व्यक्त गर्दै उनको सफलताको कामना पनि गरेका छन्।
एसडीएफ अध्यक्ष चामलिङले आज जारी एक प्रेस विज्ञप्तिमा सोनाम वाङचुक विगत 18 दिनदेखि अनिश्चितकालीन आमरण अनशनमा बसेको बताउॅंदै उनको स्वास्थ्य र कल्याणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालमा दक्षिण ल्होनाक लेकको भ्रमण गर्न सोनाम वाङचुकलाई आमन्त्रित गरेको जानकारी गराउॅंदै उनको प्राविधिक विशेषज्ञतामा लेकको पानीको स्तर कायम राख्ने कार्य गरिएको बताएका छन्।
वाङचुकको मार्गदर्शन, ज्ञान र विशेषज्ञताले हिमनदी तालबाट उत्पन्न जोखिमहरूलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको र सिक्किमका जनतालाई सुरक्षित राख्ने तत्कालीन सरकारको प्रयासमा महत्त्वपूर्ण योगदान पुर्याएको उनले बताएका छन्। २०१९ पछि ती प्राविधिक उपायहरू अगाडि बढाउने कार्य नगरिएको आरोप लगाउॅंदै उनले अक्टोबर २०२३ को हिमनदी ताल फुटेर आएको बाढी (ग्लोफ) ले दिगो वैज्ञानिक योजना, पर्यावरणीय तयारी र प्रकोप-जोखिम व्यवस्थापनमा निरन्तरताको महत्त्वलाई सम्झना गराएको उल्लेख गरेका छन्।
एसडीएफ अध्यक्षले सोनाम वाङचुक लद्दाख वा भारतका लागि मात्र नभई सम्पूर्ण मानवताको लागि बहुमूल्य रहेको बताएका छन्। विश्वले बढ्दो पर्यावरणीय र सामाजिक चुनौतीहरूको सामना गरिरहेको समयमा उनका जस्ता आवाजहरू अमूल्य रहेको विचार व्यक्त गरेका छन्। उनले भारतलाई उनको बुद्धि, साहस र नैतिक नेतृत्वको आवश्यकता छ भन्दै उनी आफ्नो लक्ष्यमा सफल होउन् भन्ने कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल