
गान्तोक, 18 जुलाई (हि.स.)। स्पेन र अर्जेन्टिनाबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको प्रत्यक्ष प्रसारणका लागि गान्तोकको एमजी मार्गमा मुख्यमन्त्री फ्यान पार्क स्थापना गरिने भएको छ। उक्त जानकारी आज मुख्यमन्त्री प्रेमसिंह तामाङले दिएका हुन्।
मुख्यमन्त्री सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै फुटबल केवल खेल मात्र नभई मानिसहरूलाई एकताबद्ध गर्ने साझा भावना रहेको उल्लेख गरेका छन्। उनले सिक्किम फुटबलप्रतिको गहिरो मोह र राज्यको गौरव बढाउने प्रतिभाशाली खेलाडी उत्पादनका लागि सधैँ परिचित रहेको बताएका छन्।
उनले भने, “फिफा विश्वकप फाइनलको प्रतीक्षामा रहेका बेला हामी सिक्किमवासी, विशेषगरी युवाहरूले यो ऐतिहासिक अवसरलाई सुरक्षित र उत्सवमय वातावरणमा रमाइलो गर्न सकून् भन्ने चाहन्छौँ। यसै उद्देश्यले एमजी मार्गमा विशाल एलईडी स्क्रिनसहित मुख्यमन्त्री फ्यान पार्क स्थापना गरिनेछ, जहाँ फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिनेछ। साथै, उनले सम्बन्धित अधिकारीहरूलाई लागू कानुन, सुरक्षा मापदण्ड तथा सार्वजनिक शान्तिसुव्यवस्था पालना गर्ने सर्तमा एमजी मार्गका रेस्टुरेन्ट, बेकरी तथा अन्य खानपान व्यवसायहरूलाई २० जुलाई, २०२६ बिहान ३:३० बजीसम्म सञ्चालन गर्न अनुमति दिन निर्देशन दिएको जानकारी गराएका छन्।
मुख्यमन्त्रीले कार्यक्रमको शान्तिपूर्ण तथा सुरक्षित सञ्चालन सुनिश्चित गर्न पुलिस विभाग तथा सम्बन्धित निकायलाई पर्याप्त सुरक्षा, सवारी व्यवस्थापन र भीड नियन्त्रणको उचित व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।
मुख्यमन्त्रीले सम्पूर्ण नागरिकलाई यो विश्वस्तरीय खेल महोत्सवलाई उत्साह, आपसी सम्मान र नागरिक जिम्मेवारीका साथ मनाउन आग्रह गर्दै भने, “आउनुहोस्, खेलको भरपुर आनन्द लिऔँ, सुरक्षित रहौँ र जिम्मेवारीपूर्वक उत्सव मनाऔँ।”
---------------
हिन्दुस्थान समाचार / बिशाल