
कालेबुङ, 18 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का केन्द्रिय समिति सदस्य तथा कालेबुङ नगरपालिकाका पूर्व नगरपालिका अध्यक्ष रवि प्रधानले पार्टीको साधारण सदस्यता सहित केन्द्रिय समितिको सदस्यता र आफूले सम्हाल्दै आएका सम्पूर्ण पद तथा जिम्मेवारीबाट राजीनामा दिएका छन्।
राजीनामा पत्रमा उनले हाल केही नितान्त व्यक्तिगत तथा पारिवारिक समस्याहरू उत्पन्न भएकाले संगठनको जिम्मेवारीलाई पूर्ण न्याय गर्न असमर्थ भएको उल्लेख गरेका छन्। उनले कसैको दबाउ, करकाप वा पूर्वाग्रहका कारण नभई पूर्ण रूपमा स्वेच्छाले यो निर्णय लिएको पनि उनले स्पष्ट पारेका छन्।
रवि प्रधानले पार्टीका केन्द्रिय तथा जिल्ला समिति लगायत सबैप्रति सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै आफ्नो राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन्। उनले पार्टीको केन्द्रिय अध्यक्ष तथा सचिवलाई सम्बोधन गर्दै समाज सेवा, जनसमस्याको समाधान तथा क्षेत्रीय विकासका लागि काम गर्न पाएको अवसरप्रति पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक