
खरसाङ , 20 जुलाई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायत पनि पूर्ण रूपमा भारतीय जनता पार्टी (भाजपा) को झोलीमा गएको छ। आज भाजपा तीनधारे महानदी मण्डल अन्तर्गत शिवखोला सिपाहीधुरा ग्राम पञ्चायतमा सम्पन्न फ्लोर टेस्टमा प्रधान तथा उप प्रधान विरुद्ध भएको मतदानमा भाजपा पक्षले स्पष्ट बहुमत हासिल गर्दै नयाँ प्रधान र उप प्रधान चयन गर्न सफल भएको छ।
शिवखोला ग्राम पञ्चायतमा नयाँ पञ्चायत प्रधान उपेन्द्र राई अनि उप प्रधानमा बिक्की पाख्रीन चयन भएका छन्। यो विजय सम्पूर्ण भाजपा परिवार, समर्पित कार्यकर्ता तथा जनताको विश्वासको परिणाम हो रहेको भारतीय जनता पार्टीले बताएको छ।
यस अवसरमा भाजपा जिल्ला उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव बिनय प्रसाद, तीनधारे महानदी मण्डलका प्रभारी चन्दन प्रसाद, कानुनी सल्लाहकार रमेश अग्रवाल,मण्डल संयोजक योगेन्द्र छेत्री, मण्डल अध्यक्ष उमेश प्रधान, महासचिव दीपराज माझी साथै मण्डलका सम्पूर्ण पदाधिकारी, प्रतिनिधिहरू तथा बूथस्तरका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक