
गान्तोक, 21 जुलाई (हि.स.)। नाम्ची जिल्लाको समरदुङमा निर्माणाधीन एनएचपीसीको टिस्टा स्टेज-६ जलविद्युत परियोजनाको सुरुङमा भएको दुर्घटनामा मर्नेहरूको संख्या बढ़ेर 10 पुगेको छ। सात जना मृतकको पहिचान गरिएको छ। सुरुङमा अझै पनि श्रमिकहरू फसेका छन् भने मृतकहरूको संख्या बढ्ने सम्भावना रहेको छ। फसेका श्रमिकहरूको खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।
नाम्ची जिल्लाकी पुलिस अधीक्षक सोनाम डोल्मा भोटियाले मिडियाकर्मीहरूलाई जानकारी सुरुङमा फॅंसेका मानिसहरूको उद्धार कार्य जारी रहेको बताइन्। उनले भनिन्, 'अहिलेसम्म 10 जनाको शव निकालिएको छ। दश जना मध्ये तीन जना पश्चिम बंगाल तथा सिक्किम, उत्तराखण्ड, पंजाब र असमका एक-एक जना रहेका छन्। तीन जनाको अझै पहिचान हुन सकेको छैन।'
उनले मृतकहरूका परिवारलाई सम्पर्क गर्ने कार्य जारी रहेको र सम्पर्क भइसकेका परिवारहरूलाई भोलिसम्ममा मृतकहरूको शव हस्तान्तरण गर्ने बताइन्। उनले सुरुङभित्र वास्तवमा के भएको थियो भन्ने अझै पनि स्पष्ट हुन नसकेको अवगत गराउॅंदै अहिले प्रशासनको प्राथमिकता फॅंसेका श्रमिकहरूलाई बाहिर निकाल्नु रहेको बताइन्। उनले उद्धार कार्यमा एनडीआरएफ लगायत स्टेट एजेन्सीहरू तैनाथ रहेको बताइन्।
उनले प्रतिकूल मौसमका कारण पनि उद्धार कार्य प्रभावित बनिरहेको बताइन्। निरन्तर रूपमा परिरहेको वर्षाका कारण सुरुङभित्र पानी पसेकाले उद्धार कार्य अवरुद्ध बनेको, तर सुरुङको पानी बाहिर निकालेपछि उद्धार कार्य पुन: शुरू गरिएको उनले बताइन्।
पुलिस अधीक्षक भोटियाले दुर्गापुर र आसनसोलबाट विशेषज्ञहरूको टोली सिक्किम आइरहेको जानकारी गराउॅंदै विशेषज्ञहरूको जॉंचपछि मात्र सुरुङभित्र चुहावट भइरहेको ग्यासबारे स्पष्ट रूपमा भन्न सकिने बताइन्।
यसैगरी, एनडीआरएफका डेपुटी कमान्डेन्ट विवेक कुमारले घटनास्थल लगभग डेढ किलोमिटरभित्र स्थित रहेको बताए। उनले पहाडी क्षेत्रहरूमा सामान्यता मिथेन ग्यास पाइने गरे तापनि हाल यहॉं सुरुङभित्र कार्बन मोनो अक्साइडको पत्ता लागेको बताए। उनले एनडीआरएफको टोली स्टेट एजेन्सीहरूको सहकार्यमा हिजो सॉंझ पॉंच बजीदेखि उद्धार कार्यमा लागिपरेको बताउॅंदै अहिलेसम्म दश जनाको शव बाहिर निकालिएको बताए।
उनले टनलभित्र हानीकारक ग्यास चुहावट, कम सदृश्यता र प्रतिकूल स्थितिका कारण उद्धार कार्य प्रभावित बनेको बताए। उनले सुरुङभित्र अझै कति जना फॅंसेका छन् भन्ने स्पष्ट नरहेको र पीडितहरू रहेको आशंका रहेसम्म उद्धार कार्य जारी रहने बताए।
हिन्दुस्थान समाचार / बिशाल