
दार्जिलिङ, 21 जुलाई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समिति प्रवक्ता वाई लामाले राशन कार्डबाट नाम हटाइएका लाभग्राहीहरूको नाम पुनः बहाल भएको जानकारी दिँदै यसका लागि राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा सांसद राजु विष्टलाई गोरामुमो अध्यक्ष मन घिसिङको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
प्रवक्ता लामाका अनुसार सरकारी राशन सुविधा उपभोग गरिरहेका धेरै परिवारहरूको नाम अचानक राशन कार्डबाट हटाइएपछि पीडित परिवारहरू आफ्नो समस्या लिएर गोरामुमो केन्द्रिय कार्यालय पुगेका थिए। उनीहरूले अध्यक्ष मन घिसिङसँग भेट गरी समस्या समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका थिए।
उक्त विषयलाई अध्यक्ष मन घिसिङले अत्यन्त गम्भीरतापूर्वक लिँदै तत्काल सांसद राजु बिष्टसँग सम्पर्क गरी राशन कार्डबाट नाम हटाइएको समस्याबारे जानकारी गराएका थिए। सोही क्रममा दार्जिलिङ पहाडमा बंगला भाषा अनिवार्य रूपमा लागू गर्ने विषयप्रति पनि आफ्नो चिन्ता तथा धारणा सांसदसमक्ष राखिएको प्रवक्ता लामाले बताए।
प्रवक्ता लामाका अनुसार, सांसद राजु बिष्टले उक्त विषयमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग प्रत्यक्ष समन्वय गरेपछि राशन कार्डबाट नाम हटाइएका सबै लाभग्राहीहरूको नाम पुनः बहाल गरिएको छ। यसलाई प्रभावित परिवारहरूका लागि ठूलो राहतका रूपमा गोरामुमोले लिएको उनले जनाए।
यसैबीच, दार्जिलिङ पहाड, तराई तथा डुवर्स क्षेत्रमा भाषासम्बन्धी उठेको अन्योलका विषयमा पनि मुख्यमन्त्री शुभेन्दु अधिकारीले सांसद राजु बिष्टलाई पत्राचार गर्दै यी क्षेत्रमा नेपाली भाषा यथावत् रहने स्पष्ट जानकारी गराएको प्रवक्ता लामाले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक