
खरसाङ, 21 जुलाई (हि.स.)। भाषा र रासन कार्डको विषयमा सरकारको त्वरित पहलप्रति भाजपा खरसाङद्वारा आभार प्रकट गरिएको छ। हालै नेपाली भाषाको प्रशासनिक प्रयोग तथा राशन कार्डबाट लाभार्थीहरूको नाम हटाइने विषयलाई लिएर दार्जिलिङ पहाडका जनतामा स्वाभाविक रूपमा चिन्ता उत्पन्न भएको थियो।
यी दुवै विषय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका भएकाले जनताले आफ्नो भविष्यलाई लिएर चासो व्यक्त गर्नु स्वाभाविक थियो। यस्तो अवस्थामा सांसद राजु विष्ट तथा विधायक सोनाम लामाले तुरुन्तै यस विषयलाई गम्भीर रूपमा उठाउँदै राज्यका मुख्यमन्त्रीसमक्ष पत्राचार तथा प्रत्यक्ष छलफलमार्फत जनताको आवाज पुर्याएको बताउँदै यसको सकारात्मक परिणामस्वरूप सरकारबाट तत्काल प्रतिक्रिया आएको भाजपा जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले बताएका छन्।
उनले यस विषयमा एक प्रेस विज्ञप्ति जारी गर्दै भने, मुख्यमन्त्रीले नेपाली भाषाको संवैधानिक मान्यता, सम्मान र संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट आश्वासन दिएका छन्। साथै, रासन कार्ड सम्बन्धी समस्याको पनि तत्काल समाधान प्रक्रिया अघि बढाइएको छ। खाद्य तथा आपूर्ति विभागमा पुगेर वास्तविक अवस्था बुझ्दा हटाइएका धेरै लाभार्थीहरूको विवरण पुनः बहाल हुन थालेको देखिएको, जसले जनतामा विश्वास र राहतको भावना सिर्जना गरेको छ।
उनले भने, यस घटनाले जनताको समस्याप्रति वर्तमान सरकारको संवेदनशीलता र त्वरित कार्यशैलीलाई स्पष्ट रूपमा देखाएको छ। यसको साथै विधायक सोनाम लामाले विधानसभामा खरसाङलाई जिल्ला घोषणा गर्ने दीर्घकालीन माग, खरसाङ अस्पतालको अवस्था सुधार लगायत जनसरोकारका विषयहरू प्रभावकारी रूपमा उठाइरहेका छन्।
उनले जनता कुनै पनि अफवाह वा भ्रामक सूचनाको पछि नलागी आधिकारिक सूचना र विश्वसनीय समाचारलाई मात्र विश्वास गर्न अनुरोध गरेका छन्। केही व्यक्तिहरूले राजनीतिक स्वार्थका लागि भ्रम फैलाउने प्रयास गरिरहेका हुन सक्छन्, तर सत्य र तथ्यका आधारमा निर्णय लिनु नै उचित हुने उनले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक