


नाम्ची, 21 जुलाई (हि.स.)। नाम्ची जिल्लाको झोलुङ्गे अन्तर्गत समरदुङमा निर्माणाधीन नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन लिमिटेड (एनएचपीसी) को टिस्टा स्टेज-६ जलविद्युत परियोजनाको सुरुङभित्र फसेका कामदारहरूको खोज तथा उद्धार कार्य निरन्तर जारी छ। खोज तथा उद्धार कार्य रातभरि जारी रह्यो। यस घटनामा अहिलेसम्म सात जनाको मृत्यु भएको छ।
नाम्ची जिल्लाको समरदुङमा निर्माणाधीन एनएचपीसीको टिस्टा स्टेज-6 जल विद्युत परियोजनामाको सुरुङमा सोमबार दिउँसो ठूलो दुर्घटना घट्यो। सुरुङभित्र काम चलिरहेको समयमा श्रमिकहरूले अचानक ठूलो विस्फोट भएको आवाज सुने, जसपछि सुरुङभित्र कथित मिथेन ग्यास चुहावट हुन थाल्यो। यस घटनापछि श्रमिकहरू आतङ्कित बने र आफ्नो ज्यान बचाउन सुरुङबाट बाहिरतिर भाग्न थाले। यस क्रममा केही श्रमिकहरू बाहिर निस्कन सफल भए भने केही श्रमिकहरू सुरुङभित्र फस्न पुगे। घटनाको सूचना पाउन साथ तत्काल राहत एवं उद्धार कार्य शुरु गरियो। प्रारम्भिक चरणमा शुरु गरिएको राहत एवं उद्धार कार्य ग्यास चुहावट, सुरुङभित्रको प्रतिकूल परिस्थिति र उपयुक्त उद्धार उपकरणहरूको अभावमा सफल हुन सकेन। यसपछि, पाकिम र सिलगढीबाट आएको राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) को सहयोगमा उद्धार कार्य शुरु गरियो। उद्धार कार्य रातभरि जारी रह्यो।
मंगलबार बिहान ४:४० बजीसम्म प्राप्त आधिकारिक जानकारीअनुसार, जिल्ला प्रशासनले ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। मृतकहरूको शवलाई सिङ्ताम जिल्ला अस्पताल, एसटीएनएम अस्पताल गान्तोक तथा नाम्ची जिल्ला अस्पतालमा लगिएको छ। मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन।
नाम्ची जिल्ला प्रशासनले एनएचपीसीका अधिकारीहरू, राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ), एनडीआरएफ, सिक्किम पुलिस, अग्नि तथा आपतकालीन सेवा, स्वास्थ्य विभाग तथा अन्य सम्बन्धित विभागहरूसँग समन्वय गरी उद्धार अभियानलाई निरन्तर अघि बढाइरहेको छ।
घटनाको अवस्थालाई एसएसडीएमएले निरन्तर निगरानी गरिरहेको छ। आवश्यकताअनुसार थप आधिकारिक जानकारी सार्वजनिक गरिने जनाइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल