समरदुङ सुरुङ दुर्घटनाप्रति मुख्यमन्त्री तामाङद्वारा गहिरो दुःख व्यक्त, उद्धार कार्य तीव्र बनाउन निर्देश
समरदुङमा राहत एवं उद्धार कार्य जारी


गान्तोक, 21 जुलाई (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नाम्ची जिल्लाको झोलुङ्गे अन्तर्गत समरदुङमा निर्माणाधीन एनएचपीसी टिस्टा चरण-६ जलविद्युत् परियोजनाको सुरुङमा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले दुर्घटनामा ज्यान गुमाएका श्रमिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले यस दुःखद घडीमा सम्पूर्ण राज्यवासीको भावना र प्रार्थना पीडित परिवारहरूसँग रहेको उल्लेख गर्दै राज्य सरकार उनीहरूको साथमा दृढतापूर्वक उभिएको बताएका छन्।

मुख्यमन्त्रीले उद्धार कार्यलाई आफूले निरन्तर अनुगमन गरिरहेको जानकारी दिएका छन्। उनले जिल्ला प्रशासन, सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसएसडीएमए), सिक्किम पुलिस, राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ), अग्नि तथा आपतकालीन सेवा, पाकिम र सिलगढ़ीस्थित राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का टोलीहरू तथा अन्य विशेषीकृत निकायहरू सुरुङभित्र फसेका बाँकी श्रमिकहरूको शव बाहिर निकाल्न अहोरात्र खटिरहेको जानकारी गराएका छन्।

मुख्यमन्त्रीले उद्धार अभियानमा संलग्न सम्पूर्ण सुरक्षाकर्मी तथा प्राविधिक टोलीको समर्पण, साहस र अथक प्रयासको उनले प्रशंसा गरेका छन्। उनले सम्बन्धित सबै निकायलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन, उद्धार कार्यलाई अझ तीव्र बनाउन तथा सम्पूर्ण अभियान अवधि उच्चतम सुरक्षा मापदण्डको कडाईका साथ पालना गर्न निर्देशन दिएको पनि बताएका छन्।

मुख्यमन्त्री तामाङले सर्वसाधारणलाई शान्त रहन, अपुष्ट तथा भ्रामक सूचना नफैलाउन र प्रभावित श्रमिक तथा उनीहरूका परिवारको लागि प्रार्थना गर्न आग्रह गरेका छन्। उनले राज्य सरकारले उद्धार अभियानलाई सुरक्षित र सफल निष्कर्षमा पुर्याउन सम्भव सबै प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उल्लेखनीय छ, नाम्ची जिल्लाको झोलुङ्गे अन्तर्गत समरदुङमा निर्माणाधीन एनएचपीसीको टिस्टा स्टेज-६ जलविद्युत परियोजनाको सुरुङभित्र फसेका कामदारहरूको खोज तथा उद्धार कार्य निरन्तर जारी छ। खोज तथा उद्धार कार्य रातभरि जारी रह्यो। यस घटनामा अहिलेसम्म सात जनाको मृत्यु भएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande