
नाम्ची, 21 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले आज समरदुङमा घटनास्थलको भ्रमण गरेपछि राज्यका मुख्य सचिव रविन्द्र तेलाङले पुलिस महानिदेशक अक्षय सचदेवको उपस्थितिमा उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गरे। बैठकमा जिल्ला प्रशासन, उद्धार एजेन्सीहरू, पश्चिम बंगाल प्रशासन, एनएचपीसी र पटेल इन्जिनियरिङ लिमिटेडका अधिकारीहरू सहभागी थिए।
बैठक उद्धार कार्यको वर्तमान स्थिति, खोज प्रयास जारी राख्ने रणनीति, पीडितहरूलाई क्षतिपूर्ति र शोक सन्तप्त परिवारहरूलाई राहतका उपायहरूमा केन्द्रित थियो। मुख्य सचिवले उद्धार कार्यको समीक्षा गर्दै मृतक श्रमिकहरूको पहिचान स्थापित गर्न सबै आवश्यक कदम चाल्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए।
उनले उद्धार रणनीतिको विस्तृत समीक्षा गर्दै उपलब्ध अक्सिजन आपूर्तिलाई सुरक्षित, प्रभावकारी र निर्बाध निरन्तरता दिनको लागि विवेकपूर्ण रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले मृतकको पार्थिव शरीरलाई पूर्ण ध्यान दिएर पहिचान गरी सम्मानका साथ सम्बन्धित परिवारलाई प्रदान गर्नुपर्नेमा जोड दिए। उनले प्रचलित व्यवस्था बमोजिम पीडित परिवारलाई आवश्यक पर्ने क्षतिपूर्ति उपलब्ध गराउन र आवश्यक सबै सहयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
बैठकमा आईजी उत्तर बङ्गालका आईजी सुकेश कुमार जैन, आईजीपी (कानून र व्यवस्था) टाशी वांग्याल, आईजीपी नाम्ची हेमराज राई, दोस्रो बटालियन एनडीआरएफ कोलकाताका कमाण्डेन्ट मनिष कुमार रञ्जन, जिल्लापाल अनुपा ताम्लिङ, नाम्चीकी पुलिस अधीक्षक सोनाम डी भोटिया आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल