
खरसाङ, 25 जुलाई (हि.स.)। खरसाङमा आज आयोजित एक कार्यक्रमबीच एकल म्युजिक भिडियो गीत 'पीडाको दिन थियो' सार्वजनिक गरिएको छ। यस अवसरमा मेलोडी म्युजिक खरसाङ नामक एउटा युट्युब च्यानल पनि विधिवत शुरुवात गरिएको छ।
'पीडाको दिन थियो' गीतको शब्द बिपिन स्याङदेनको रहेको छ। साथै, सङ्गीत संयोजन अनि निर्देशन महेश्वर लामाको रहेको छ भने स्वर प्रसिद्ध गायक महेश सेवाको रहेको छ। बी. सिंहद्वारा निर्देशित यस म्युजिक भिडियोमा अपूर्व लामा र त्रिशाला कार्कीले अभिनय गरेका छन्।
गीति भिडियोको लोकार्पण आज दार्जिलिङका प्रसिद्ध गायक पेमा लामाको बाहुलीबाट गरियो। यस अवसरमा सङ्गीत संयोजक एवं निर्देशक महेश्वर लामा, शब्दकार बिपिन स्याङदेन, गायक महेश सेवा लगायत सङ्गीतकारहरु उपेन प्रधान, राजु सुन्दास, रुपेश रसाइली, शब्दकार-गायक अरुण गुरुङ, नमस्ते खरसाङका प्रबन्ध निर्देशक निर्मल गुरुङ आदि उपस्थित थिए।
वरिष्ठ गायक पेमा लामाले गीति भिडियो सार्वजनिक गर्दै मेलोडी म्युजिक खरसाङको युट्युट च्यानल शुरू भएको घोषणा गरे।
प्रमुख अतिथि लामाले यो गीतले आफुलाई मनभित्रबाट छोएको बताउँदै हाम्रै घर आँगनमा यसरी म्युजिकसित सम्बन्धित युट्युब च्यानल खोलिॅंदा धेरै खुशी लागेको बताए। उनले यस च्यानलको माध्यम मार्फत नयाँ कलाकारहरुदेखि लिएर स्थापित कलाकारहरुद्वारा प्रस्तुत गीतहरु हामी विश्वव्यापी रुपमा प्रचार प्रसार गर्न सक्छौ भन्दै सबैलाई बधाई एवं शुभकामना दिए।
गीतबारे बोल्दै गीतकार बिपिन स्याङदेनले आफ्नो जीवनमा धेरै गीतहरु लेखिए पनि यो गीतले भने उनको भित्री मन छोएको र यस गीतको एउटा बेग्लै स्थान रहेको बताए। सङ्गीतकार महेश्वर लामाले धेरै वर्षको प्रयासमा यसरी मेलोडी म्युजिक खरसाङ नामक युट्युब च्यानल खोल्न पाएको तथा यसको शुरुवात आमा विषयलाई लिएर लेखिएको मार्मिक गीतबाट गर्न पाउँदा अति गर्वका साथै खुशी लागेको बताए।
हिन्दुस्थान समाचार / हनोक