
खरसाङ, 25 जुलाई (हि.स.)। सिविटार चियाबारीमा साहित्य अकादमी नयाँ दिल्ली र महानदी सिविटार वरिष्ठ नागरिक कल्याण संगठनको संयुक्त आयोजनामा आज साहित्य मञ्च अनि नारी चेतना कार्यक्रम सम्पन्न भयो। सिविटार चियाबारीको तेरेस गाउँमा सम्पन्न कार्यक्रमलाई वरिष्ठ नागरिक कल्याण संगठनका संस्थापक एवं संरक्षक शरणकुमार राईले अध्यक्षता गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एवं गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामा उपस्थित थिइन्।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी उपाध्यक्ष बिजया ब्लोन, संरक्षण पारस लामा, कोषाध्यक्ष मिना यल्मो, गोर्खा जनपुस्तकालय खरसाङका उप सभापति कृष्ण पाण्डे र प्रकाश प्रधान, सचिव विनोद रसाइली, कोषाध्यक्ष उत्तमकुमार गुरुङ, महानदी उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक महेन्द्र प्रधान, असीत राई स्मृति साहित्यिक संस्थान् तीनधारे महानदी समष्टिका सभापति शेखरचन्द्र प्रधान, समाजसेवी सूर्यनारायण प्रधान, महानदी सिविटार वरिष्ठ नागरिक कल्याण संगठनका पदाधिकारीहरु लगायत अन्यहरु उपस्थित रहेका थिए।
कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण साथै साहित्य अकादमीको तर्फबाट सम्भाषण राख्दै सिविटारमा प्रथमपल्ट साहित्य अकादेमीको कार्यक्रम आयोजना गर्नु ऐतिहासिक क्षण रहेको र यसका लागि सिविटारवासीलाई बधाई दिइन। उनले आफ्नो सम्बोधनमा साहित्य अकादमीका विभिन्न कार्यक्रमहरु र यसका कार्यहरु विषयमा विस्तृत जानकारी गराइन्।
कार्यक्रमको पहिलो चरणमा साहित्य मञ्च कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार कुबीर प्रधानले गरेका थिए भने चारजनाले कार्यपत्र प्रस्तुत गरे। यस क्रममा मिलन प्रधानले भारतीय नेपाली साहित्यमा चियाबारी कविताको प्रारम्भ, विकास एवं वर्तमान स्थिति विषयमा, सञ्जीव छेत्रीले भारतीय नेपाली साहित्यमा गजल र रुवायतको प्रयोग-परम्परा, हनोक थापाले भारतीय परिप्रेक्ष्यमा आधुनिक नेपाली कविताको अवधारणा र अवस्थानको विश्लेषणात्मक अध्ययन अनि मौसम नेवारले भारतीय नेपाली साहित्यमा मौलिक कविता लेखन अनि एआई कविता लेखनको तुलनात्मक अध्ययन विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।
चारैजनाले प्रस्तुत गरेका कार्यपत्रमाथि साहित्यकार कुबीर प्रधानले टिप्पणी राखेका थिए। उनले चारैजनाका कार्यपत्र प्रस्तुतिलाई सराहना गरे।
कार्यक्रमको दोस्रो चरणमा नारी चेतना कार्यक्रम सम्पन्न भयो, जसको अध्यक्षता तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी पूर्व प्रधान अध्यापिका एवं साहित्यकार मार्थारानी राईले गरेकी थिइन्। यस सत्रमा चारजना नारी स्रष्टाहरु क्रमैले रीना सुब्बाले भारतीय नेपाली साहित्यमा उत्तर आधुनिकता र यथार्थवादी नारी लेखनको सर्वेक्षणात्मक विवेचना', उर्मिला लामाले भारतीय नेपाली भाषा र साहित्य पठन पाठनमा वर्तमान विद्यार्थीहरुको नकारात्मक दृष्टिकोणबारे विश्लेषणात्मक अध्ययन, प्रबिना छेत्रीले भारतीय नेपाली आख्यानमा नारी मनोविश्लेषणात्मक भावधाराको परिचायत्मक अध्ययन अनि अलबिना थापाले भारतीय नेपाली साहित्यमा उत्तर आधुनिकता र यथार्थवादी नारी लेखनको सर्वेक्षणात्मक विवेचना' विषयमा आफ्नो आफ्नो कार्य पत्रहरु पठन गरेका थिए।
चारैजनाको कार्यपत्र प्रस्तुतिपछि कार्यक्रम अध्यक्षा मार्थारानी राईले टिप्पणी राखेकी थिइन्। उनले आफ्नो सम्बोधनमा नारी लेखनमा धेरै सुधार र प्रगति भएको बताउँदै नारी चेतना कार्यक्रम असल भएको बताइन्। उनले यो कार्यक्रममा नारी लेखिकाहरुको जमघट राम्रो भएको बताउँदै नारीको जीवनमा संयम हुने, नारीहरुमा सहने शक्ति हुने, नारीहरु धैर्यवान् हुने र पीडाहरु ह्रदयमा राख्ने बताइन्।
साहित्य मञ्च र नारी चेतना कार्यक्रमका अध्यक्ष शरणकुमार राईले आफ्नो अध्यक्षीय सम्बोधनमा यस कार्यक्रममा विद्यार्थीहरुको सहभागिता र उपस्थित हुनुपर्ने बताए। उनले साहित्यको साधना गर्नुपर्छ भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिनु पर्ने आवश्यकतामाथि जोड दिए। उनले सिविटारमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना हुन सकेकोमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्य आशा मुखिया लामाप्रति आभार प्रकट गरिन्।
उल्लेखनीय छ, सिविटारमा साहित्य अकादमीको कार्यक्रम पहिलोपटक सम्पन्न भएको छ, जुन सम्पूर्ण सिविटारवासीको लागि गर्वको विषय हो। यस दिनलाई सिविटारको लागि ऐतिहासिक मानिएको छ। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने सबैलाई अतिथिहरुको बाहुलीबाट प्रमाण पत्र वितरण गरिएको थियो। कार्यक्रममा महानदी सिविटार वरिष्ठ नागरिक कल्याण संगठनको तर्फबाट सुरेश प्रधानले धन्यवाद ज्ञापन राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक