
दार्जिलिङ, 03 जुलाई (हि.स.)। दार्जीलिङ भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामाको उपस्थितिमा आज दार्जिलिङ पुलबजार बिजनबारी खण्ड पञ्चायत समितिमा सर्वसम्मतिमा भाजपाको बोर्ड गठन गरिएको छ। ४९ सदस्यीय उक्त पञ्चायत समितिको सभापतिमा निमन्त तामाङ तथा सहकारी सभापतिमा रिवाज गुरुङ निर्विरोध रूपमा चयन भएका छन्।
समितिलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष संजीव लामाले भने, यो समिति जनताको समिति हो। यहाँ पक्ष–विपक्ष भन्ने कुनै स्थान छैन। यस समितिको उद्देश्य जनताको हितमा काम गर्नु र विकासलाई गति दिनु हो। अब फुट र विभाजनको राजनीति अन्त्य हुनुपर्छ। पहाडमा शान्ति, विकास र नयाँ सोचलाई अघि बढाउन आवश्यक छ। नयाँ पुस्ताका युवाहरूलाई नेतृत्वमा अवसर दिनुपर्छ। अब पहाडमा बद्लाको होइन, बदलाउको राजनीति हुनुपर्छ।
उक्त कार्यक्रममा दार्जिलिङ भाजपा जिल्ला प्रवक्ता साकाल देवान, जिल्ला सचिव गोपाल बुढाथोकी, जिल्ला मिडिया प्रभारी योवन गुरुङ, विभिन्न ग्राम पञ्चायतका प्रधान तथा उप प्रधानहरू, अन्य पदाधिकारी, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक