
सोनादा, 31 जुलाई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टिका पदाधिकारीहरूले आज दार्जिलिङ क्षेत्रका विधायक नोमन राईलाई उनको कार्यालय भेटघाट गरेको छ। भेटको उद्देश्य सोनादा क्षेत्रमा जनताले भोग्नु परिरहेका समस्याहरूका साथै आगामी दिनहरूमा यहाँको विकास र विभिन्न योजनाहरूका बारेमा चर्चा गरिनु रहेको थियो।
प्रतिनिधि टोलीले समस्याहरूको बारेमा विधायकलाई जानकारी गराए। गत 2023 सालदेखि बन्द रहेको रङ्गमुक चिया बगान साथै मुण्डा चिया बगानको अवस्था सम्बन्धि पनि विधायकलाई जानकारी गराइयो। उक्त दुई बगानका श्रमिकहरुले तीन महिनामा जम्मा 4500 रुपियाँ मई महिनामा पाउनु पर्ने फौलाईको पैसा अझसम्म पाउन नसकेको जानकारी गराइएको छ।
अर्को मुख्य विषय, एसआईआर प्रक्रियामा खॉंटी नागरिकहरुको भोटर लिस्टबाट नाम हटाएको बारेमा पनि विधायकलाई अवगत गराइएको छ। यस अतिरिक्त, सोनादा क्षेत्रको रमणीय पर्यटकीय स्थल इन्द्रेणी फल्सको वर्तमान अवस्थाबारे जानकारी गराउॅंदै ढाँचागत योजना बुझाइएको छ।
विधायकले सम्बन्धित विभागसॅंग सम्पर्क गरेर आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक