सोनादा डिग्री कलेजमा भारतीय दार्शनिक दिवसको उपलक्ष्यमा वार्ता सम्पन्न
सोनादा डिग्री कलेजमा भारतीय दार्शनिक दिवसको उपलक्ष्यमा वार्ता सम्पन्न


सोनादा, 31 जुलाई (हि.स.)। भारतीय दार्शनिक परिषद्को प्रायोजनमा एवम् सोनादा डिग्री कलेजको दर्शनशास्त्र विभाग तथा आईक्युएसीको संयुक्त आयोजनामा भारतीय दार्शनिक दिवसलाई केन्द्र गरेर विविध शैक्षिक तथा दार्शनिक गतिविधिका साथ ‘भारतीय सामाजिक परिवर्तन र रूपान्तरणमा नैतिकताको भूमिका: महात्मा गान्धी र स्वामी विवेकानन्द’ विषयमा एक दिवसीय कार्यक्रम कलेजको अरिबहादुर गुरुङ प्रेक्षागृहमा सम्पन्न भयो।

कार्यक्रममा प्रा. दिच्छेन योल्मोले कार्यक्रमको मूल विषयमाथि परिचयात्मक मन्तव्य प्रस्तुत गर्दै भारतीय दर्शन, नैतिक मूल्य र सामाजिक रूपान्तरणबीचको सम्बन्धबारे प्रकाश पारिन्। त्यसपछि प्रथम वक्ताका रूपमा उत्तर बङ्गाल विश्वविद्यालयको दर्शनशास्त्र विभागका विभागाध्यक्ष डा कौशिक जोदारले उक्त विषयमाथि आफ्नो वार्ता प्रस्तुत गरे। उनले महात्मा गान्धीको दर्शन, सत्य, अहिंसा तथा नैतिकताको अवधारणाका साथै तत्कालीन भारतीय समाजमा ब्रिटिस शासनका कारण उत्पन्न सामाजिक तथा राजनीतिक द्वन्द्व र त्यसको समाधानमा नैतिक दर्शनको भूमिकामाथि चर्चा गरेका थिए।

कार्यक्रमका दोस्रो वक्ता उत्तर बङ्गाल विश्वविद्यालय, दर्शनशास्त्र विभागकै डा निर्मल कुमार रायले स्वामी विवेकानन्दको दर्शन र उपनिषद्सँगको सम्बन्धका विषयमा व्याख्या गरे। उनले स्वामी विवेकानन्दका विचारमार्फत मानिसको जीवनलाई कसरी आध्यात्मिक तथा नैतिक रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्दै मानिसभित्र पहिले नै विद्यमान पूर्णताको अभिव्यक्ति नै दिव्यता हो भन्ने विवेकानन्दीय दृष्टिकोणलाई विशेष रूपमा प्रस्तुत गरे।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, वक्ता, शिक्षण- अशिक्षणकर्मी विद्यार्थीवर्गप्रति दर्शनशास्त्र विभागका प्राध्यापकद्वय प्रा पेञ्चुला भोटिया र डा पार्थ सारथि दासले आभार व्यक्त गरेको जानकारी सोनादा डिग्री कलेजका उप प्राध्यापक मेघनाथ छेत्रीले दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande