
सोनादा, 31 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सन्तमेरिज ग्राम पञ्चायत दुईका पञ्चायत प्रधान एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेता सदेव तामाङ भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। भाजपा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद र उपाध्यक्ष आरबी लामाले तामाङलाई खदा लगाएर पार्टीमा स्वागत जनाए।
पत्रकारहरूसँग कुराकानी गर्दै जिल्ला सचिव बिनय प्रसादले भने, 'भारतीय जनता पार्टी जनताको पार्टी हो। यस दलमा निष्पक्ष र निस्वार्थ भावले काम गर्ने व्यक्तिहरूलाई पार्टीले सदैव स्वीकार गर्दछ। लोकतन्त्रमा सबैले आफ्नो इच्छाले राजनीति गर्ने अधिकार पाउँछन्। अन्य दलका नेताहरूको भिजन स्पष्ट नहुँदा आज जनता अन्योलमा परेका छन्। भारतीय जनता पार्टीप्रति विश्वास र आस्था राखेर आज धेरै सदस्यहरू पार्टीमा जोडिन आइरहेका छन्। साथै पहाडवासीको हितको निम्ति भारतीय जनता पार्टी सदैव जनताको साथमा रहनेछ।'
हिन्दुस्थान समाचार / हनोक