
खरसाङ, 31 जुलाई (हि.स.)। खरसाङको लङ्भ्यू चियाबारीका मालिक गोबिन गर्गले शुक्रबार पनि बेल पाएनन्। शुक्रबार उनलाई खरसाङको कोर्टमा प्रस्तुत गरिएको थियो भने सुनवाईपछि उनको बेल रद्ध गर्दै सात दिनको न्यायिक हिरासतमा पठाइएको छ। यस अतिरिक्त, उनलाई अर्को मामिलामा पनि तीन दिनको पुलिस कस्टडीमा पठाएको बताइएको छ। गर्ग अब आगामी 3 अगस्त र 7 अगस्तका दिन कोर्टमा पुनः प्रस्तुत हुनुपर्ने थाहा लागेको छ।
गर्गलाई आज खरसाङ कोर्टमा प्रस्तुत गर्दा हिल प्लान्टेशन इम्प्लोइज युनियनको नेतृत्वमा लङ्भ्यू चियाबारीका श्रमिकहरुले खरसाङ कोर्ट बाहिर बिहानदेखि विरोध प्रदर्शन गरेका थिए। युनियन र श्रमिकहरुले मालिक गोबिन गर्गको बेल हुनुहुँदैन भन्दै नारा लगाएका थिए। गर्गलाई कडा सुरक्षाबीच कोर्टमा ल्याइएको थियो। अधिवक्ता एवं एक्टिभिस्ट अनुपा तामाङले श्रमिकहरुलाई गर्गको बेल रद्ध भएको र सात दिनको न्यायिक हिरासतमा पठाइएको जानकारी गराइन्।
अझ थप एउटा केश, जुन लङ्भ्यू चियाबारीका एक श्रमिकले आफ्नो पिताले अवकाशप्राप्तपछि पनि पीएफ र ग्रेच्युटी नपाएको भन्दै गरेको नालिस अनुसार तीन दिनको पुलिस कस्टडीमा पठाइएको जानकारी गराइन्। उनले अब 3 अगस्त र अर्को सुनवाई 7 अगस्तमा हुने पनि जानकारी गराइन्।
गोबिन गर्गको बेल रद्ध भएपछि उपस्थित श्रमिकहरुले खुशीमा नारा लगाएका थिए। हिल प्लान्टेशन इम्प्लोइज युनियनका सचिव सुमेन्द्र तामाङले यसलाई श्रमिकहरुको बिजय ठहर गरे। उनले शुक्रवार लङ्भ्यू चियाबारीको अनशनले 99औं दिनमा पुगेको र शनिवार 100 दिनमा पुग्ने बताए।
हिन्दुस्थान समाचार / हनोक