
अहमदाबाद, 0४ जुलाई (हि.स.)। गुजरातको एन्टी टेररिस्ट स्क्वाड (एटीएस) ले विभिन्न राज्यमा संयुक्त अभियान सञ्चालन गर्दै प्रतिबन्धित आतङ्ककारी संगठन 'दारुल इस्लाम गुजरात जैश-ए-मोहम्मद' सँग सम्बन्धित एक संदिग्ध मोड्युलको पर्दाफास गरेको छ। यस अभियानमा आठ जना आरोपीलाई पक्राउ गरिएको छ। जाँच जेन्सीहरूको दाबीअनुसार, उक्त मोड्युल सीमापार रहेका ह्यान्डलरहरूको सम्पर्कमा रही राष्ट्रविरोधी गतिविधिका लागि सञ्जाल निर्माण गरिरहेको थियो।
एटीएसका अनुसार, अभियानमा उसका पाँच विशेष टोलीले गुजरातका बनासकाँठा, नवसारी र पाटन जिल्लाको पुलिस तथा मध्य प्रदेशको देवास पुलिससँग मिलेर कारबाही गरेका थिए। पक्राउ परेका सबैलाई थप सोधपुछका लागि एटीएस मुख्यालय ल्याइएको छ।
प्रारम्भिक जाँचमा पक्राउ परेकाहरू कथित रूपमा जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरका विचार र प्रचार सामग्रीबाट प्रभावित रहेको पाइएको छ। उनीहरू स्थानीय स्तरमा संगठनका लागि लजिस्टिक सञ्जाल निर्माण गर्ने, प्रचार-प्रसार गर्ने तथा भविष्यमा सम्भावित आतङ्की गतिविधिका लागि आधार तयार गर्ने काममा संलग्न थिए।
जाँच जेन्सीहरूका अनुसार, यस मोड्युलको विशेषता भनेको सदस्यहरूलाई विभिन्न शहरमा फैलाएर अन्तिम आक्रमणको आदेशको प्रतीक्षामा राख्नु तथा सहज आवतजावतका लागि दर्ता नगरिएका सम्पत्तिहरू प्रयोग गर्नु थियो। स्थानीय संरचना निर्माणका लागि उनीहरूले आफ्ना ह्यान्डलरहरूबाट तीन लाख रुपियाँ प्राप्त गरेका थिए। सो रकमबाट एउटा पुरानो कार खरिद गरिएको थियो, तर पहिचान लुकाउन जानाजानी आफ्नो नाममा दर्ता नगरिएको जांचमा खुलेको छ।
लुक्नका लागि उनीहरूले संस्थागत स्थानहरूको व्यापक प्रयोग गरेका थिए। जाँचअनुसार, जकारिया दुर्रानी, मुफ्ती फौजान इस्माइल दौवा र मोहम्मद अमीन शेरालाई पाटनको खाडियासनास्थित जामिया अबुल हसन मदरसामा राखिएको थियो। मोहम्मद अब्दुल रहमान सावदीलाई नवसारीको जामिया रहमानिया मदरसामा तैनाथ गरिएको थियो भने अहमद अब्दुल्ला गाजीवाला, इब्राहिम घाघा, मुदस्सिर गाजीवाला र बिलाल दुर्रानी घाघाले मेहसाणा, बनासकाँठा र देवासमा नेटवर्कका विभिन्न भागको जिम्मेवारी सम्हालेका थिए।
बरामद सामग्री तथा जाँचका क्रममा सबै आरोपी मसूद अजहरका भाषण र साहित्यबाट अत्यधिक प्रभावित रहेको पाइएको छ। छापामारीका क्रममा पाकिस्तानमा छापिएका मसूद अजहरद्वारा लिखित पुस्तकहरू तथा आतङ्ककारी संगठनमा आबद्ध हुनका लागि उनलाई सम्बोधन गरेर उर्दू भाषामा टाइप गरिएका आठवटा औपचारिक पत्र पनि बरामद भएको एटीएसले जनाएको छ।
मसूद अजहर भारतमा भएका चर्चित आतङ्की आक्रमणहरूको योजनाकारका रूपमा चिनिन्छन्। तीमध्ये सन् २००१ को भारतीय संसदमाथिको आक्रमण, सन् २०१६ को पठानकोट वायुसेना अड्डामाथिको आक्रमण तथा सन् २०१९ को पुलवामा आत्मघाती विस्फोट प्रमुख छन्।
डीआईजी सुनील जोशीका अनुसार, उक्त सेल पाकिस्तानमा रहेका ह्यान्डलर अब्दुल्ला र मोहम्मद उमरसँग निरन्तर सम्पर्कमा थियो। अनुसन्धान जारी रहेकाले सबै आठ आरोपीविरुद्ध गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) का धारा १३, १७, १८, ३८ र ३९ तथा भारतीय न्याय संहिता का धारा ६१ र १४८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
अधिकारीहरूले सोधपुछ, डिजिटल प्रमाण तथा अन्य बरामद सामग्रीको विश्लेषणका आधारमा थप कानुनी कारबाही अघि बढाइने बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी