
नयाँ दिल्ली, ४ जुलाई (हि.स.)। भारतका केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारतीय खेलौना उत्पादकहरूलाई आगामी चार वर्षभित्र खेलौनाको निर्यात १० गुणाले बढाउने लक्ष्य निर्धारण गर्न आह्वान गरेका छन्। उनले भारत-पेरु मुक्त व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता छिट्टै सम्पन्न हुने सम्भावना नरहेको बताए। यद्यपि, भारत-क्यानडा एफटीएबारे भने उनले सकारात्मक संकेत दिएका छन्।
शनिबार नयाँ दिल्लीमा आयोजित १७औँ टोय बिज इन्टरनेशनल बी२बी एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गोयलले भारतीय खेलौना उद्योगलाई महत्वाकांक्षी निर्यात लक्ष्य तय गर्न आग्रह गरे। उनले सरकारले गुणस्तर नियन्त्रण आदेश फिर्ता नलिने स्पष्ट पार्दै देशभरका खेलौना उत्पादन क्लस्टरहरूमा आधुनिक परीक्षण (टेस्टिङ) सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
गोयलले भारतले खेलौना आयात गर्ने देशबाट निर्यात गर्ने देशसम्मको यात्रा तय गरेको उल्लेख गर्दै हालै सम्पन्न भएका मुक्त व्यापार सम्झौताहरूले नयाँ अन्तरराष्ट्रिय बजार खुल्ने भएकाले यस क्षेत्र अझ तीव्र गतिमा विस्तार हुने विश्वास व्यक्त गरे। उनले उद्योगलाई गुणस्तर, सुरक्षा तथा अन्तरराष्ट्रिय मापदण्डलाई प्राथमिकता दिन आग्रह गर्दै भारतलाई विश्वस्तरीय खेलौना उत्पादन तथा निर्यात केन्द्रका रूपमा स्थापित गर्न सबैले मिलेर काम गर्नुपर्ने बताए।
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारत-पेरु एफटीएबारे केही उत्पादनमा बजार पहुँचसम्बन्धी चिन्ता कायम रहेकाले सम्झौता निकट भविष्यमा सम्पन्न हुने सम्भावना कम रहेको बताए। उनका अनुसार, केही उत्पादनमा भारतले बजार पहुँच दिन नसक्ने अवस्था रहेकाले वार्ता अझै जारी रहनेछ।
यद्यपि, भारत-क्यानडा एफटीएबारे उनले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको जानकारी दिए। उनले भारतीय अधिकारीहरूको एक टोली अर्को चरणको वार्ताका लागि सोमबार क्यानडा जाने र आगामी छ महिनाभित्र सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेको बताए।
केन्द्रिय मन्त्रीले आगामी १३ जुलाईमा विदेश मन्त्री एस. जयशंकर तथा सूचना तथा प्रसारण एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवसँग बेल्जियमको ब्रसेल्स भ्रमण गर्ने जानकारी पनि दिए। उनीहरू त्यहाँ भारत-युरोपेली संघ (ईयू) व्यापार तथा प्रविधि परिषद् (टीटीसी) को बैठकमा सहभागी हुनेछन्।
उल्लेखनीय छ, भारत र पेरुबीच प्रस्तावित मुक्त व्यापार सम्झौतासम्बन्धी वार्ता सन् २०१७ मा शुरु भएको थियो। हाल विश्वव्यापी खेलौना बजार करिब १२० अरब अमेरिकी डलर रहेको भए पनि यसमा भारतको हिस्सा केवल ०.२ देखि ०.३ प्रतिशत मात्र छ। यद्यपि, पछिल्ला चार वर्षमा भारतको खेलौना निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।
हिन्दुस्थान समाचार / बिशाल