
वाराणसी, 0४ जुलाई (हि.स.)। उत्तर प्रदेशको वाराणसीस्थित श्री काशी विश्वनाथ मन्दिरको गेट नम्बर-४ मा शनिबार ड्युटीमा रहेका एक पीएसी जवानको लोड गरिएको कार्बाइन हातबाट चिप्लिएर भुइँमा खसेपछि त्यसबाट अचानक गोली चलेको छ। उक्त घटनापछि मन्दिर परिसर बाहिर केही समयका लागि हलचल मचेको थियो।
प्रत्यक्षदर्शीका अनुसार, गोली सड़कमा लागेको थियो। गोलीको प्रभावले सड़कका गिट्टीहरू उछिट्टिएर वरपर रहेका पसलेहरूलाई लाग्दा फूलमाला बिक्री गर्ने निक्की गुप्ता, रामबाबु र विकास यादव घाइते भएका छन्। उनीहरूलाई सामान्य चोट लागेको बताइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ पुलिसका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका थिए। तीनै जना घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइयो। प्राथमिक उपचारपछि उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
घटनापछि मन्दिरको गेट नम्बर-४ वरपर केही समय अफरातफरीको अवस्था देखिएको थियो। पुलिसले घटनाको जाँच शुरु गरेको छ। प्रारम्भिक जानकारीअनुसार, कार्बाइन भुइँमा खसेपछि अनायास गोली चलेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी