खरसाङमा एक दिवसीय एकल क्यारम प्रतियोगिता: मणि तामाङ बने च्याम्पियन
Carrom tournament


खरसाङ, 05 जुलाई (हि.स.)। खरसाङ महकुमा खेलकुद संघको आयोजनामा गत वर्षहरु झैँ यस वर्ष पनि स्वर्गीय धर्मे तामाङ, स्वर्गीय राजु तामाङ अनि स्वर्गीय शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता सम्पन्न गरियो। उक्त क्यारम प्रतियोगिता खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आइतवार आयोजन गरियो।

स्थानको अनुमतिका कारण यस पटक केवल एकल वर्गमा उक्त प्रतियोगिता आयोजना गरियो भने सिमित प्रतियोगीहरुलाई मात्र प्रवेश दिएको थियो। प्रतियोगितामा जम्मा 20 जना प्रतियोगीहरुले भाग लिएका थिए। यस एक दिवसीय क्यारम प्रतियोगितामा मणि तामाङ विजेता बनेका छन् भने ललित सेवा उप विजेता बने। यसरी नै तेस्रो स्थान विश्वास सुब्बा र चौथो स्थान महेश थापाले प्राप्त गरेका छन्।

प्रतियोगिताका विजेतालाई ट्रफीसहित चार हजार, दोस्रोलाई ट्रफीसहित दुई हजार तथा तेस्रो अनि चौथोलाई ट्रफीसहित एक हजार रुपियाँ प्रदान गरिएको छ। प्रतियोगितामा आज अतिथिको रुपमा अधिवक्ता रमेश अग्रवाल, पूर्व सभासद श्याम शेर्पा, काइँली तामाङ लगायत स्वर्गीय धर्मे तामाङ, स्वर्गीय राजु तामाङ अनि स्वर्गीय शोभा तामाङ थापाका परिवारका सदस्य सदस्याहरु पनि उपस्थित रहेका थिए।

खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले क्यारम प्रतियोगिताका प्रायोजक साथै सहभागीहरु सबैलाई धन्यवाद दिए। उनले क्यारम प्रतियोगिताको समापन लगत्तैपछि अब 11औं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता आगामी 19 जुलाईमा हुने पनि जानकारी दिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande