
खरसाङ, 05 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) युवा शक्तिको आयोजनामा आज खरसाङमा युवा जनभेला आयोजना गरियो। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता युवा शक्ति खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरुङले गरेको थियो। कार्यक्रममा बीजीपीएमका केन्द्रिय संस्थापक अध्यक्ष थापा मुख्य अतिथि थिए।
कार्यक्रममा युवा शक्तिको केन्द्रिय अध्यक्ष अमृत योञ्जन, पूर्व सभासद अनोश थापा र श्याम शेर्पा, नारी शक्तिकी केन्द्रिय अध्यक्षा अनु छेत्री साथै युवा शक्तिका केन्द्रिय पदाधिकारीहरु, विभिन्न समष्टिका पदाधिकारीहरु आदि उपस्थित रहेका थिए।
कार्यक्रमलाई बीजीपीएम अध्यक्ष अनित थापा, सभाध्यक्ष पेमेन्द्र गुरुङ, युवा शक्ति खरसाङ महकुमा समितिका सचिव विज्ञान मिश्र, बीजीपीएम खरसाङ महकुमा समितिका नवनियुक्त सभापति एवं पूर्व सभासद प्रणाम रसाइली आदिले सम्बोधन गरेका थिए।
कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै अनित थापाले विभिन्न प्रश्नहरुको उत्तर दिॅंदै भने, 'अहिले डबल इञ्जिनको सरकार छ। बंगाल विधानसभाको बजेट सेशनमा गोर्खाल्याण्डको कुरा उठेको छ। यो ठूलो कुरा हो।' उनले भाजपा सरकारले दिन्छु भनेको छ र अब दिन्छ होला भन्ने आशा रहेको बताए।
हिन्दुस्थान समाचार / हनोक