जेयूएसको कार्यकारी समिति विघटन, नयॉं कार्यकारी समिति गठनका लागि चुनाउ गरिने
जेयूएसको कार्यकारी समितिकाे बैठक


गान्तोक, 05 जुलाई (हि.स.)। जर्नलिस्ट युनियन अफ् सिक्किम (जेयूएस) को कार्यकारी समिति विघटन गरिएको छ। साथै, संस्थाको नयॉं कार्यकारी समिति गठनका लागि चुनाउ समिति गठन गरिएको छ। जेयूएसको आइतबार सम्पन्न भएको वार्षिक साधारण सभामा उक्त निर्णय लिइएको हो।

जेयूएसको वार्षिक साधारण सभा आज गान्तोकस्थित युनियनको हलमा अध्यक्ष सुजल प्रधानको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा कार्यकारी समिति र युनियनका सदस्यहरूको उपस्थिति थियो।

सभामा निवर्तमान महासचिव एनबी घिमिरेले कार्यकारी समितिको दुई वर्षे कार्यकालमा भएका गतिविधि र उपलब्धिहरू प्रकाश पार्दै विस्तृत प्रतिवेदन प्रस्तुत गरे। यसरी नै कोषाध्यक्ष मनिता तामाङले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्, जसमा संस्थाको आय, खर्च र वर्तमान आर्थिक स्थितिको रूपरेखा प्रस्तुत गरिएको थियो।

अध्यक्ष प्रधानले आफ्नो सम्बोधनमा वर्तमान कार्यकारी समितिको कार्यकाल आधिकारिक रूपमा समाप्त भएको घोषणा गरे। उनले समितिको विघटनको प्रस्ताव राखे, जुन उपस्थित सबै सदस्यहरूले सर्वसम्मतिले अनुमोदन गरियो।

सभामा विभिन्न विषयमा छलफलपछि वर्तमान कार्यकारी समिति विघटन गर्दै चुनाउ मार्फत नयाँ कार्यकारी समिति गठन गर्ने प्रक्रिया शुरु गरियो। निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्वाचन समिति गठन गरिएको छ, जसमा वरिष्ठ पत्रकार नीता निराशलाई निर्वाचन समितिको अध्यक्षको रूपमा नियुक्त गरियो।

उनलाई समितिमा थप दुई सदस्यहरू नियुक्त गर्ने अधिकार दिइएको छ। निर्वाचन समितिलाई निर्वाचन मिति घोषणा गर्ने र निर्वाचनसँग सम्बन्धित सबै प्रक्रियाहरूको निरीक्षण गर्ने पूर्ण अधिकार रहने बताइएको छ। निवर्तमान कोषाध्यक्षले सदस्यहरूको पूर्ण सूची निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछन्, जसमा सदस्यता नवीकरण गरेका र नवीकरण नगरेकाहरूको विवरण समावेश रहनेछ।

मासिक सदस्यता शुल्क नतिरेका सदस्यहरूले निर्वाचन समितिले तोकेको समयसीमाभित्र आफ्नो बक्यौता तिर्नुपर्ने जनाइएको छ। तोकिएको समयभित्र त्यसो गर्न असफल हुनेहरूको सदस्यता रद्द गरिनेछ र आगामी चुनाउमा मतदान गर्न योग्य हुनेछैनन्। जानकारी अनुसार, जूयेएसको सात सदस्यीय कार्यकारी समिति चयन गर्न निर्वाचन गरिनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande