एसकेएम कार्यकर्ता एसडीएफमा सामेल भएको दाबी, विकास, शान्ति र सुरक्षाको लागि एसडीएफलाई जिताउन आह्वान
एसकेएम कार्यकर्ता एसडीएफमा सामेल भएको दाबी


गान्तोक, 05 जुलाई (हि.स.)। गेजिङ जिल्लाको याङथाङ निर्वाचन क्षेत्रका दुई जना महिला एसकेएम कार्यकर्ता पार्टीलाई त्यागेर एसडीएफ पार्टीमा प्रवेश गरेको दाबी गरिएको छ। एसडीएफ पार्टीको गान्तोकस्थित मुख्य कार्यालयमा एसडीएफ पार्टीका अध्यक्षसँग भेट गरि उनीहरुले उक्त फैसला गरेको बताइएको छ।

एसडीएफ अध्यक्षसँगको भेटको क्रममा उनीहरुले एसकेएम पार्टीमाथि सिक्किमलाई लथालिङ्ग र भताभुङ्ग बनाएको, ग्रामीण जनतालाई अनेकौं समस्या, दुख, संकट र आर्थिक कठिनाइमा पारेर बेहाल बनाएको दुखेसो पोखेको बताइएको छ। उनीहरूले एसकेएम सरकारमाथि जनतालाई ढाट्ने काम गरेको आरोप पनि लगाए।

एसडीएफ अध्यक्ष पवन चामलिङले उनीहरुको सकारात्मक फैसलालाई हार्दिक स्वागत जनाउॅंदै सिक्किम र सिक्किमे जनताको वर्तमान र भविष्य बचाउने पार्टी एसडीएफ मात्र रहेको बताए। सिक्किमको पहिचान, स्वतन्त्रता र विशेष अधिकार अहिले खतरामा परिरहेको बताउॅंदै उनले अब सिक्किमलाई बचाउन सबै सिक्किम प्रेमीहरू एकजुट बन्नु पर्ने आवश्यकता रहेको बताए।

उनले भने, 'आज सिक्किम ठूलो आर्थिक संकटमा परिसकेको छ। अत्यधिक ऋणको बोझले सिक्किम थलिएको छ। एसकेएम सरकार स्पष्ट योजना बनाउन र स्पष्ट अडान राख्न विफल छ। मनपरि बजेटको धनराशि खर्च गर्दैछ। यही कारण आज सिक्किममा भ्रष्टाचार व्यापक मौलाएको छ।' एसडीएफले २५ वर्षमा जति गर्यौं त्यो भन्दा पनि ज्यादा विकास, शान्ति र सुरक्षा चाहने हो भने छाताको चिन्नमा भोट लगाएर एसडीएफ पार्टीलाई जिताउनु पर्छ भनी उनले आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande