
गान्तोक, 01 अगस्त (हि.स.)। सिक्किमको मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले ऐतिहासिक नथुला पास हुँदै आजदेखि छह वर्षपछि सीमा व्यापार पुनः सञ्चालन भएको बताउँदै यसलाई सिक्किम र राष्ट्रका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको बताएका छन्। उनले सीमा व्यापार पुनः सञ्चालनसँगै राज्यभर आर्थिक गतिविधिमा नयाँ गति आउने, पञ्जीकृत व्यापारी, यातायात व्यवसायी, पर्यटन क्षेत्र, स्थानीय व्यवसाय तथा सीमावर्ती समुदायका लागि नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरेका छन्। साथै, यसले सीमापार व्यापार र क्षेत्रीय सम्पर्कमा सिक्किमको महत्वपूर्ण भूमिकालाई अझ सुदृढ़ बनाउने अपेक्षा गरिएको उनले उल्लेख गरेका छन्।
प्रेस सचिव तामाङले आज जारी एक प्रेस विज्ञप्तिमा उक्त कुरा बताएका छन्। उनले नथुला सीमा व्यापारको पुनः सञ्चालन सिक्किमका लागि स्वागतयोग्य उपलब्धि रहेको उल्लेख गर्दै यसले सिक्किम सरकार र भारत सरकारको संयुक्त प्रयासलाई प्रतिबिम्बित गरेको जनाएका छन्। उनले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सरकारले सीमा व्यापार पुनर्जीवनका लागि निरन्तर पहल गर्दै आएको जानकारी गराएका छन्। उनले यसबाट स्थानीय अर्थतन्त्र सुदृढ़ हुने, रोजगारीका अवसर विस्तार हुने, सीमावर्ती क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा टेवा पुग्ने तथा व्यापार, पर्यटन, यातायात, आतिथ्य सेवा र अन्य सम्बन्धित क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास सरकारको रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीका प्रेस सचिवले नथुला सीमा व्यापार पुनः सञ्चालन गराउन भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्। २००६ मा पुनः सञ्चालन गरिएको यो व्यापार मार्ग कोभिड-१९ महामारीपछि २०२० देखि बन्द रहेको थियो। यसको पुनः सञ्चालनले दर्ता भएका व्यापारी तथा सीमावर्ती व्यापारसँग आबद्ध सबै सरोकारवालाका लागि नयाँ व्यावसायिक अवसर सिर्जना गर्नुका साथै राज्यको अर्थतन्त्रलाई थप गतिशील बनाउने अपेक्षा गरिएको उनले बताएका छन् छ।
सिक्किम सरकारले नथुला व्यापार सफलतापूर्वक पुनः सञ्चालन गराउन सहयोग पुर्याएकोमा भारत सरकार, विशेष गरी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय, भारतीय सेना, भारत-तिब्बत सीमा प्रहरी (आईटीबीपी), सब्सिडियरी इन्टेलिजेन्स ब्युरो/आप्रवासन, भन्सार विभाग तथा अन्य सबै सम्बन्धित केन्द्रिय निकायप्रति हार्दिक आभार व्यक्त गरेको छ।
साथै, राज्य वाणिज्य तथा उद्योग विभाग, सम्बन्धित सबै राज्य सरकारी विभाग, जिल्ला प्रशासन, सुरक्षा निकाय, सिक्किम पुलिस, सीमा व्यापारसँग सम्बन्धित सरोकारवाला, पञ्जीकृत व्यापारी तथा यस महत्वपूर्ण उपलब्धिलाई सम्भव बनाउन योगदान पुर्याउने सबै व्यक्तिलाई पनि सरकारले बधाई तथा धन्यवाद ज्ञापन गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल