
गान्तोक, 01 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको बर्फुङ निर्वाचन क्षेत्रको क्षेत्रस्तरीय समन्वय सभा आज पार्टीको अवकाशप्राप्त कर्मचारी परिषद्का उपाध्यक्ष गोपी चौहानको अध्यक्षतामा सम्पन्न भयो। उक्त जानकारी सीएपीले प्रेस विज्ञप्तिमा दिएको छ।
सभामा विद्यार्थी परिषद्का अध्यक्ष सोनाम लेप्चाले सरकारको बिपासा (बिजुली, पानी र सडक) नारालाई उल्लेख गर्दै गाउँ-घरमा विद्युत् आपूर्ति अवरुद्ध हुनु, सडकको अव्यवस्था तथा खानेपानी समस्याको समाधान हुन नसकेको आरोप लगाए। उनले सरकार वास्तविक समस्या समाधान गर्नुको सट्टा प्रचारमुखी गतिविधिमा केन्द्रित भएको दाबी गर्दै जनताले अब त्यस्ता गतिविधिमाथि विश्वास नगर्ने बताए।
आफ्नो अध्यक्षीय सम्बोधनमा गोपी चौहानले सरकार जनताको हितका लागि हुनुपर्ने भए पनि वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित रहेको आरोप लगाए। उनले आम नागरिकले आधारभूत सेवा सुविधा प्राप्त गर्न प्रणालीगत समस्याका कारण सास्ती भोग्नुपरेको उल्लेख गरे। परिश्रम गरेर जीविकोपार्जन गर्ने ग्वालाहरूले विगत 16 महिनादेखि दूध प्रोत्साहन रकम नपाएको आरोप लगाउँदै आर्थिक वर्ष 2025-26 को बजेटमा ट्राइबल सब प्लानमा विनियोजन गरिएको रकम कहाँ खर्च भयो भनी प्रश्न उठाए।
त्यसैगरी, विद्यार्थीको छात्रवृत्ति, ठेकादारहरूको भुक्तानी, कृषकहरूको तरकारीको न्यूनतम समर्थन मूल्य सम्बन्धी भुक्तानी नपाएको व्यापक गुनासो रहेको र केन्द्र सरकारका विभिन्न कार्यक्रम राज्यमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको पनि उनले आरोप लगाए।
सभालाई पार्टीका अन्य नेताहरूले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल