लालकिल्लाको प्राचीरबाट प्रधानमन्त्री मोदीद्वारा ‘शक्तिको सप्तधारा’ को आह्वान
2f522db0fd60540c4d7d973a69893e0b_81387568.jpg


नयाँ दिल्ली, १५ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज लालकिल्लामा आयोजित स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै देशमा ‘शक्तिको सप्तधारा’ को आह्वान गरेका छन्। उनले भने, “आज लालकिल्लाको प्राचीरबाट म देशमा शक्तिको सप्तधाराको आह्वान गर्दछु। जुन काम पाँच दशकमा हुन सकेन, त्यसलाई आगामी ५-७ वर्षमा पूरा गर्न नयाँ ऊर्जा प्रदान गरिनेछ। यसमा युवाशक्तिलाई पनि जोडिनेछ।”

प्रधानमन्त्रीले सप्तधाराको पहिलो शक्ति उत्पादन (म्यानुफ्याक्चरिङ) को शक्ति भएको उल्लेख गर्दै उत्पादन क्षमता बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले साना पुर्जादेखि ठूला उत्पादनसम्म स्वदेशमै निर्माण गर्नुपर्ने र सम्पूर्ण मूल्य शृंखलामा भारतको अधिकार हुनुपर्ने बताए। डिजाइनदेखि उत्पादनसम्म भारतलाई विश्वव्यापी आपूर्ति शृंखलाको केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो।

उनले उत्पादन क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि यो ठूलो अवसर भएको उल्लेख गर्दै गुणस्तर र उत्पादनको परिमाण दुवैमा विश्वस्तरीय मापदण्ड पूरा गर्नुपर्ने बताए। उनले भने, “शून्य त्रुटियुक्त (जिरो डिफेक्ट) उत्पादन नै हाम्रो पहिचान बन्नुपर्छ। विश्व बजारमा हाम्रो पहिचान गुणस्तरकै आधारमा हुनेछ। गुणस्तरसँग कुनै सम्झौता हुनुहुँदैन। हाम्रो लक्ष्य गुणस्तर, गुणस्तर र गुणस्तर नै हुनुपर्छ।'

प्रधानमन्त्री मोदीले सुधार (रिफर्म) लाई निरन्तर अघि बढाउनु पनि आवश्यक रहेको बताए। उनले आगामी दिनमा अझ उच्चस्तरका सुधारहरू लागू गरिने जानकारी दिँदै सबैले आफ्नो परम्परागत व्यवस्था, सोच र लक्ष्यमा परिवर्तन ल्याउनुपर्ने बताए। किसान र मजदुरलाई नयाँ दिशातर्फ अघि बढाउनुपर्ने तथा विकसित भारत निर्माणका लागि नयाँ धाराको आवश्यकता रहेको उनको भनाइ थियो।

उनले भारतको समुद्री तटीय क्षेत्र (सी बेल्ट) का कारण समुद्री खाद्य पदार्थ (सीफुड) को क्षेत्रमा विश्व बजारमा ठूलो सम्भावना रहेको बताए। सन् २०४७ को लक्ष्य बलियो आधारमा उभिएको उल्लेख गर्दै उनले विगत १०-१२ वर्षमा भारतीय जनताले देखाएको क्षमता आत्मनिर्भर भारत अभियानको महत्वपूर्ण हिस्सा भएको बताए।

प्रधानमन्त्रीले भने, “आत्मनिर्भर भारतको यात्राको एक चौथाइ हिस्सा पूरा भइसकेको छ। अब हामीले लक्ष्य हासिल गरेरै छाड्नुपर्छ। यसका लागि हाम्रो संस्कृति, सोच र काम गर्ने गति परिवर्तन गर्न आवश्यक छ। जुन काम विगत पाँच दशकमा भएनन्, ती काम हामीले ५-७ वर्षमै सम्पन्न गरेका छौँ। मलाई विश्वास छ, हामी यो सपना साकार पार्न सक्छौँ।”

प्रधानमन्त्री मोदीले भारत आज स्थिर सरकारका साथ अघि बढिरहेको र विश्वमा देशको सम्मान बढिरहेको बताए। उनले भारतको संविधानले सबैलाई दिशा दिने उल्लेख गर्दै विश्वले आज भारतको क्षमता पहिचान गरिरहेको बताए।

उनले हाल भएका विभिन्न व्यापार सम्झौताले ठूलो अवसर सिर्जना गरेको भन्दै सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) लाई ती अवसर गुमाउन नहुने आग्रह गरे। उनले भने, “हाम्रा मेसिनरी, वस्त्र उद्योग, औषधि उद्योग लगायत सबै क्षेत्रले यी अवसरको लाभ लिनुपर्छ। गुणस्तर र विश्वव्यापी मापदण्डअनुसार अघि बढ्नुपर्छ।'

प्रधानमन्त्री मोदीले आत्मनिर्भरताको अवधारणामाथि विगतमा प्रश्न उठाइने गरेको स्मरण गर्दै भने, “जब म आत्मनिर्भरताको कुरा गर्थें, केही मानिसहरूले वैश्वीकरणको भविष्यबारे प्रश्न उठाउँथे। तर जहाँबाट वैश्वीकरणको आवाज उठ्थ्यो, त्यहाँबाट अहिले त्यो आवाज नै बन्द भएको छ।”

उनले विगत १२ वर्षमा भारतले कोरोना महामारीजस्ता कठिन चुनौतीहरू सामना गरेको उल्लेख गरे। कोरोना महामारीपछि युक्रेन तथा पश्चिम एशियामा देखिएका तनावका बाबजुद भारतले सफलतापूर्वक परिस्थितिको सामना गरेको बताए।

उनले भने, “कतिपय मानिसहरूले कोरोना खोप उपलब्ध हुँदैन, पेट्रोल, डिजेल, ग्यास वा मल पाइँदैन भनेर देशमा डर फैलाउन खोजे। तर ‘नागरिक देवो भवः’ को भावनाका साथ अघि बढाइएका योजनाका कारण देशले कुनै समस्या भोग्नुपरेन। आज देशमा पेट्रोल, ग्यास र डिजेल सबै उपलब्ध छन् र भारत आफ्नै गतिमा अघि बढिरहेको छ।”

प्रधानमन्त्रीले भारतले पाँचवटा नयाँ आणविक रिएक्टर (न्यूक्लियर रिएक्टर) सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिए। काँचो तेलमा अत्यधिक निर्भरता विगतको गलत सोचको परिणाम भएको उल्लेख गर्दै उनले समुद्री क्षेत्रको ९९ प्रतिशत भागलाई ‘नो-गो एरिया’ घोषणा गरिएकाले अन्वेषण (एक्सप्लोरेशन) रोकिएको बताए।

उनले सरकारले उक्त क्षेत्र खुला गरी समुद्री स्रोतको खोजी र अन्वेषणलाई प्रोत्साहन दिएको जानकारी दिए। यसै सन्दर्भमा ‘समुद्र मन्थन’ कार्यक्रम घोषणा गरिएको र हालै त्यस कार्यलाई अघि बढाउन ८५ हजार करोड रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए।

/ बिशाल


 rajesh pande