
खरसाङ, 16 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे-महानदी समष्टि जोनल कमिटी गठन गरिएको छ। १५ वटा चियाबारीलाई समेटेर उक्त जोनल कमिटी गठन गरिएको हो।
भागोप्रमोका केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा आयोजित कार्यक्रममा जोनल कमिटीका विभिन्न पदाधिकारी चयन गरिएको छ। जसअनुसार सभापतिमा राजेस थापा, उपसभापतिमा राजेस शेर्पा, पूर्ण लामा र रबीन मंगर, सचिवमा सुकवीर राई तथा सहसचिवमा सन्तोष गुरुङ, लोकेश थापा र दिवस वाइबा चयन भएका छन्।
त्यसैगरी राजेन्द्र प्रधानलाई कोषाध्यक्ष तथा सागर गुरुङ, जनक छेत्री र राजीव थापालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। चारजना कार्यकारी सदस्यसहित जोनल कमिटीको पूर्णाङ्क समिति गठन गरिएको जनाइएको छ।
नवनियुक्त सबै पदाधिकारीहरूलाई पार्टीका केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाको बाहुलीबाट नियुक्तिपत्रसमेत प्रदान गरिएको थियो।
यसै अवसरमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रिय समितिको कार्यकारी अध्यक्षको रूपमा शेखरचन्द्र प्रधानलाई नियुक्त गरिएको छ। उनलाई पनि अनित थापाले नियुक्तिपत्र प्रदान गरिएको युनियनको खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक