घैयाबारीमा भागोप्रमोको कर्मी सभा, नयाँ कमिटी गठन
bgpm meeting


खरसाङ, 16 अगस्त (हि.स.)। महानदी-तीनधारे समष्टिअन्तर्गत घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को कर्मी सभा सम्पन्न भएको छ।

समष्टि सभापति राजीव थापाको अध्यक्षतामा सम्पन्न सभामा भागोप्रमोका केन्द्रिय संस्थापक अध्यक्ष अनित थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा ट्रेड युनियनका तर्फबाट सन्तोष तामाङ, रमिला तामाङ र अर्जुन तामाङ तथा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, भागोप्रमो खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाइली र केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले सम्बोधन गरेका थिए।

सभाको मुख्य उद्देश्य समष्टिअन्तर्गत रहेका पुराना भ्रातृ संगठन तथा युवा शक्तिका कमिटीहरू विघटन गरी नयाँ कमिटी गठन गर्नु रहेको बताइएको छ।

सभाले हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे-महानदी समष्टि जोनल कमिटीको सभापतिमा राजेस थापा, सचिवमा सुकबीर राई र कोषाध्यक्षमा राजेन्द्र प्रधानलगायत अन्य पदाधिकारीहरू चयन गरेको छ। यसैगरी केवल राईलाई तीनधारे-महानदी समष्टिको मूल सचिवको जिम्मेवारी दिइएको छ। युवा शक्तिको सभापतिमा शुभम प्रधान तथा कार्यकारी सचिवमा भीषण लामालाई चयन गरिएको छ।

सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै समष्टि प्रवक्ता विपन विश्वकर्मले नयाँ कमिटी गठनको उद्देश्यबारे जानकारी दिँदै संगठनलाई अझ सक्रिय, व्यवस्थित र सशक्त बनाउँदै लैजाने योजना रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande