
कोलकाता, १९ अगस्त (हि.स.)। तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक बनर्जीको निजी ब्याङ्क खाता फ्रिज गरिएको विषयमा दायर याचिकामाथि बुधबार कलकत्ता हाई कोर्टमा सुनुवाई हुन सकेन। न्यायमूर्ति कृष्ण रावले सुनुवाई बिहीबारसम्मका लागि स्थगित गर्दै सम्बन्धित ब्याङ्क व्यवस्थापनलाई रिपोर्ट पेश गर्न आदेश दिएका छन्।
अभिषेकका वकिल अयन भट्टाचार्यले सोमबार न्यायमूर्ति रावसमक्ष मुद्दाको उल्लेख गर्दै तत्काल सुनुवाईको माग गरेका थिए। उनले अदालतलाई अभिषेक चिकित्सा उपचारका लागि छिट्टै विदेश जानुपर्ने र यसैबीच उनको निजी ब्याङ्क खाता फ्रिज गरिएको जानकारी दिएका थिए। वकिलका अनुसार, ब्याङ्क खाता फ्रिज गर्नुको कारणसमेत जानकारी गराएको छैन।
अभिषेकका वकिलले भारतीय नागरिक सुरक्षा संहिताको धारा १०७ अन्तर्गत आवश्यक प्रक्रिया पूरा नगरी ब्याङ्क खाता कसरी फ्रिज गर्न सकिन्छ भन्ने प्रश्नसमेत उठाएका छन्। उनका अनुसार, उक्त प्रावधानअन्तर्गत कुनै खाता फ्रिज गर्न पुलिसले सम्बन्धित मजिस्ट्रेटसमक्ष आवेदन दिनुपर्ने हुन्छ। तर अभिषेकको मामिलामा यस्तो प्रक्रिया पालना नगरिएको उनको दाबी छ।
वकिलको दलील सुनेपछि न्यायमूर्ति रावले मुद्दा दर्ता गर्न अनुमति दिएका थिए। अदालतले अभिषेकविरुद्ध कुनै अनुसन्धान चलिरहेको छ कि छैन भनेर पनि प्रश्न गरेको थियो। यसमा उनका वकिलले अभिषेक अदालतको निर्देशनअनुसार अनुसन्धानमा सहयोग गरिरहेको र उक्त अनुसन्धानको ब्याङ्क खाता फ्रिज गरिनुसँग कुनै सम्बन्ध नरहेको बताएका थिए। त्यसपछि अदालतले मुद्दासँग सम्बन्धित अन्य पक्षलाई नोटिस जारी गर्न निर्देशन दिएको थियो।
अभिषेकलाई विदेश गएर उपचार गराउन उच्चतम अदालतले १० अगस्तमा अनुमति दिएको थियो। सर्वोच्च अदालतले उनलाई तीन साताका लागि विदेश जान अनुमति दिँदै उनको विदेश यात्रामा कुनै अवरोध नगर्न आदेश दिएको थियो।
यसअघि विदेश जान अनुमति माग्दै अभिषेकले कलकत्ता हाई कोर्टमा याचिका दायर गरेका थिए। तर हाई कोर्टले उनको याचिका खारेज गरेपछि उनले ७ अगस्तको राति सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए।
हिन्दुस्थान समाचार / बिशाल