
नामथाङ, 21 अगस्त (हि.स.)। भावतरङ्ग साहित्य समिति नामथाङ, नाम्ची सिक्किमको आयोजनमा नेपाली भाषा मान्यता दिवस २०२६ भव्य रुपमा सम्पन्न गरियो। तुरुङ मामरिङ ग्राम पञ्चायत एकाईको प्रेक्षागृहमा सम्पन्न उक्त कार्यक्रममा सिक्किम सरकारका कला, संस्कृति तथा सम्पदा बोर्डका अध्यक्ष सञ्जय 'दिलपाली'राई मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए।
कार्यक्रममा नामथाङ रातेपानी निर्वाचन क्षेत्रबाट दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा नेपाली, लेप्चा, भोटिया र लिम्बू भाषा विषयमा अब्बल अङ्क प्राप्त गर्न सफल विद्यार्थीहरुलाई प्रशंसा तथा सम्मान जनाईयो। जसमध्ये बाह्रौॅ श्रेणीको नेपाली बिषयमा १००% अङ्क प्राप्त गर्न सफल द्वय पीएम श्री बालकृष्ण कसाजु सरकारी वरिष्ठ माध्यमिक विद्यालय नामथाङका छात्रा मनिषा खरेल अनि सुहाना प्रधान, दशौं श्रेणीमा परिक्षाको नेपाली बिषयमा ९३ % अङ्क लिएर उत्तीर्ण पीएम श्री बाल कृष्ण कसाजु सरकारी वरिष्ठ माध्यमिक विद्यालय नामथाङका छात्रा एरियना छेत्री अनि तिङले सरकारी माध्यमिक विद्यालयकी छात्रा अहिसा गुरुङ, बाह्रौं श्रेणीबाट लेप्चा भाषाको विषयमा उत्कृष्ट अङ्क लिएर उतिर्ण पीएम श्री बाल कृष्ण कसाजु सरकारी वरिष्ठ माध्यमिक विद्यालय नामथाङका छात्रा मुनमपन्दी लेप्चा र दशौं श्रेणीबाट काब्रे सरकारी माध्यमिक विद्यालयकी छात्रा प्रकृति लेप्चा
बाह्रौं श्रेणीबाट भोटिया भाषाको विषयमा उत्कृष्ट अङ्क लिएर उतिर्ण परबिङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थी रिक्मी शेर्पा अनि दशौं श्रेणीबाट लिम्बू विषयमा बाल कृष्ण कसाजु सरकारी वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थी अनमिका सुब्बा गरि आठ विद्यार्थीहरुलाई सम्मान गरियो।
विद्यार्थीहरूद्वारा कविता वाचन र नृत्य प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जन दिलाएको थियो भने खुल्ला कविता वाचनले कार्यक्रमलाई थप आनन्द दिएको थियो। कार्यक्रममा अप्पर मानेडाँडा
नामथाङ निवासी साहित्यकार बलराम दाहालको तेस्रो कृति खिचडी ज्ञानगंगा निबन्ध संग्रह र करेक कैजले निवासी चन्द्रलाल न्यौपानेकृत दोस्रो कृति बाङ्गाटिङ्गा तर सत्य कुराहरु पुस्तक लोकार्पण गरियो।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष सञ्जय दिलपाली राईले नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्द्धन गर्दै भावी पुस्तामाझ यसको महत्व स्थापित गर्नुपर्नेमा जोड दिंदै वर्तमान सरकारले नेपाली भाषा मान्यता दिवसलाई आधिकारिक रुपमा सरकारी विदा घोषणा गरिसकेको साथै भाषा, संस्कृति र भेषभुषाहरुको संवर्द्धन र संरक्षणको निम्ति सरकारले गरेका कामहरूको उल्लेख गरे।
भावतरङ्ग साहित्य समितिका अध्यक्ष सोमबहादुर राईद्वारा सञ्चालित कार्यक्रममा समितिका संस्थापक सल्लाहकार विद्यापति ढुङ्गेलले स्वागत मन्तव्य राखेका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल