युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
Minister sonam lama


गेजिङ, 21 अगस्त (हि.स.)। सिक्किमका प्राचीन तथा अत्यन्त श्रद्धापूर्वक मनाइने पर्वहरूमध्ये एक पाङ ल्हाब सोल पर्व आजदेखि गेजीङ जिल्लाको युक्सममा शुरु भएको छ। “पवित्र कञ्चनजङ्घा, आस्था र सम्पदाको उत्सव” नारासहित आयोजना भइरहेको आठदिने पर्व आगामी २८ अगस्तसम्म सञ्चालन हुनेछ।

पर्वको उद्घाटन आज पीएचईडी, जलस्रोत तथा धार्मिक मामिला विभागका मन्त्री सोनाम लामाको मुख्य आतिथ्यमा सम्पन्न गरियो। कार्यक्रममा गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

मुख्य कार्यक्रममा सहभागी हुनुअघि मन्त्री लामाले नोर्बुगाङस्थित मणिलाखाङमा पूजा-अर्चना गरे। पाङ ल्हाब सोल पर्व समारोह समिति, युक्समले क्षेत्र विधायक तथा मन्त्री छिरिङ टी. भोटियाको संरक्षणमा यो पर्व आयोजना गरेको हो। पर्व आयोजनामा कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज डिभिजन तथा पर्यटन तथा नागरिक उड्डयन विभागले पनि सहयोग गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनाम लामाले राज्य सरकार तथा आफ्नो तर्फबाट पाङ ल्हाब सोलको अग्रिम शुभकामना व्यक्त गरे। उनले पर्वको विशिष्ट सांस्कृतिक तथा आध्यात्मिक महत्वमाथि प्रकाश पार्दै आयोजक समितिको पहलको प्रशंसा गरे। विविधतामा एकताको भावना कायम राख्दै जाति तथा समुदायको भेदभाव नगरी युवा पुस्ता पाङ ल्हाब सोलको विरासत संरक्षण तथा भावी पुस्तासम्म पुर्‍याउन एकजुट हुनुपर्नेमा उनले जोड दिए।

मन्त्रीले सिक्किमका जनतालाई राज्यमा आयोजना हुने विभिन्न पर्वमा सक्रिय रूपमा सहभागी भई समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि सामूहिक रूपमा काम गर्न पनि आह्वान गरे। उनले राज्य सरकारद्वारा सिक्किमको विकास तथा जनताको कल्याण र उत्थानका लागि सञ्चालन गरिएका विभिन्न विकासमूलक पहलहरूबारे पनि जानकारी दिए।

यस अवसरमा अल सिक्किम भोटिया एसोसिएसन (एएसबीए) ले गेजिङ जिल्ला अस्पतालको सहकार्यमा पर्वस्थलमा स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो। दिनभर सञ्चालन भएको शिविरबाट ठूलो संख्यामा स्थानीयले स्वास्थ्य सेवा लिए। मन्त्री तथा उनको टोलीले स्वास्थ्य शिविरका विभिन्न स्टलको समेत निरीक्षण गरेका थिए।

आठदिने पर्वअन्तर्गत धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिनेछ। यस क्रममा २२ अगस्तदेखि फुटसल प्रतियोगिता समेत शुरु हुने आयोजकले जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande